बुधबारदेखि वर्षा र हिमपातको सम्भावना, शुक्रबार-शनिबार विशेष सतर्कता अपनाउन आग्रह

बुधबारदेखि वर्षा र हिमपातको सम्भावना, शुक्रबार-शनिबार विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौं । बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीको प्रभावले बुधबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार बिहीबारदेखि मौसममा प्रणालीको प्रभाव देखिन थाल्नेछ भने शुक्रबार र शनिबार यसको प्रभाव सबैभन्दा बढी रहने सम्भावना छ।

नेपाल मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार पोस्ट मनसुन अवधिमा सामान्यतया मौसम सफा रहने भए पनि बंगालको खाडी र अरब सागरमा विकसित हुने न्यूनचापीय क्षेत्र तथा चक्रवातले नेपालको मौसममा प्रभाव पार्न सक्छन्।

शुक्रबार र शनिबार वर्षा तथा हिमपातको जोखिम

वरिष्ठ मौसमविद् पोखरेलले उक्त प्रणालीको प्रभावका कारण देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताउनुभयो। उच्च पहाडी तथा हिमाली क्षेत्रमा बाक्लो हिमपात हुनुका साथै हिमआँधीसमेत आउन सक्ने जोखिम रहेको उहाँले जानकारी दिनुभयो। त्यसैले पर्वतारोहणमा जाने तथा उच्च हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई विशेष सावधानी अपनाउन र जोखिमपूर्ण अवस्थामा त्यस्ता क्षेत्रमा नजान आग्रह गरिएको छ।

पहिरो र कृषि क्षेत्रमा असर पर्न सक्ने

महाशाखाका अनुसार ठूलो बाढी आउने सम्भावना कम भए पनि दुर्गम क्षेत्रका सडक तथा बाटोमा पहिरो जान सक्ने जोखिम छ। वर्षाका कारण यात्रा प्रभावित हुन सक्ने भएकाले यात्रु तथा सम्बन्धित निकायले सतर्कता अपनाउनुपर्ने देखिएको छ।

त्यस्तै, पाक्न लागेको धानबालीमा वर्षा र हावाहुरीले क्षति पुर्‍याउन सक्ने भएकाले कृषि क्षेत्रमा पनि विशेष सावधानी अपनाउन मौसमविद् पोखरेलले आग्रह गर्नुभएको छ। विशेषगरी शुक्रबार र शनिबार मौसमको प्रभाव बढी देखिन सक्ने भएकाले किसान, यात्रु, पर्वतारोही तथा उच्च पहाडी र हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।