आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त, पाँच वर्षे कार्यकाल

आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त, पाँच वर्षे कार्यकाल

काठमाडौं । लामो समयदेखि रिक्त रहेको लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) नियुक्त भएकी छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलका अनुसार मन्त्रालयको प्रस्तावमा असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले आनी छोइङ डोल्मालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ को उपदफा (१) को खण्ड (ख) बमोजिम उनलाई उक्त जिम्मेवारी दिइएको हो। उनको कार्यकाल पाँच वर्षको हुनेछ।

लुम्बिनी विकास कोष पदाधिकारीसम्बन्धी विनियमावली, २०५८ अनुसार उपाध्यक्ष कोषको प्रमुख प्रशासकीय पदाधिकारीसमेत हुने व्यवस्था छ। यससँगै आनी छोइङ डोल्माले लुम्बिनीको विकास, व्यवस्थापन तथा बौद्ध सम्पदाको संरक्षणसँग सम्बन्धित महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नेछिन्।

बौद्ध साधनादेखि अन्तर्राष्ट्रिय संगीतसम्मको यात्रा

सन् १९७० मा काठमाडौंमा जन्मिएकी आनी छोइङ डोल्मा बौद्ध धर्म, साधना र संगीतका माध्यमबाट अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल व्यक्तित्व हुन्।

उनी १३ वर्षको उमेरमा शिवपुरीस्थित नागी गुम्बामा प्रवेश गरेकी थिइन्। बौद्ध धर्मगुरु टुल्कु उर्गेन रिन्पोछेको मार्गदर्शनमा उनले बौद्ध मन्त्र तथा धार्मिक संगीतको अध्ययन गरिन्। त्यसपछि उनले गायनलाई पनि आफ्नो पहिचानको महत्त्वपूर्ण माध्यम बनाइन्।

आधुनिक संगीतको शैलीमार्फत बौद्ध भजन र मन्त्रलाई विश्वभर पुर्‍याउन योगदान दिएकी आनी छोइङ डोल्मालाई ‘सिङ्गिङ नन’ अर्थात् गायिका भिक्षुणीका रूपमा चिनिन्छ। उनका गीत तथा धार्मिक संगीतले नेपालबाहिर पनि ठूलो श्रोता वर्गसम्म पहुँच बनाएका छन्।

बौद्ध आध्यात्मिकता र संगीतका माध्यमबाट विश्वभर परिचित आनी छोइङ डोल्माको नियुक्तिसँगै लुम्बिनी विकास कोषको नेतृत्वमा नयाँ जिम्मेवारी थपिएको छ। गौतम बुद्धको जन्मस्थल लुम्बिनीको संरक्षण, विकास र अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धिमा उनको कार्यकाल कस्तो रहनेछ भन्ने चासोसमेत बढेको छ।