सरकारले आईटीका विभिन्न पदमा कर्मचारी माग्यो, मासिक साढे २ लाखसम्म तलब

सरकारले आईटीका विभिन्न पदमा कर्मचारी माग्यो, मासिक साढे २ लाखसम्म तलब

काठमाडौं । सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रका विभिन्न पदमा आकर्षक पारिश्रमिकसहित कर्मचारी माग गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले सूचना प्रणालीको विकास, स्तरोन्नति, परिमार्जन तथा मर्मतसम्भारका लागि नौ प्रकारका पदमा आवेदन आह्वान गरेको हो।

केन्द्रले सार्वजनिक गरेको विज्ञापनअनुसार प्रमुख प्रविधि विज्ञ पदमा मासिक दुई लाख ५० हजार रुपैयाँ पारिश्रमिक प्रस्ताव गरिएको छ। त्यस्तै, प्रोजेक्ट म्यानेजर तथा विभिन्न क्षेत्रका प्रमुख पदमा मासिक दुई लाख रुपैयाँ पारिश्रमिक तोकिएको छ।

सूचनाअनुसार प्रमुख प्रविधि विज्ञ एक जना, प्रोजेक्ट म्यानेजर दुई जना, सेक्टर प्रमुख (प्रोजेक्ट तथा बिजनेस एनालिसिस) एक जना, सेक्टर प्रमुख (सफ्टवेयर इन्जिनियरिङ) एक जना, सेक्टर प्रमुख (क्वालिटी एनालिसिस) एक जना र सेक्टर प्रमुख (इन्फ्रास्ट्रक्चर तथा अपरेसन्स) एक जना माग गरिएको छ।

यी पदमा मासिक दुई लाखदेखि दुई लाख ५० हजार रुपैयाँसम्म पारिश्रमिक उपलब्ध गराउने प्रस्ताव गरिएको छ।

त्यसैगरी, सिस्टम एनालिस्ट चार जना, सिनियर डेभलपर तीन जना र सिस्टम, नेटवर्क तथा डाटाबेस एडमिनिस्ट्रेटर दुई जना माग गरिएको छ। सिस्टम एनालिस्टका लागि मासिक एक लाख ६० हजार, सिनियर डेभलपरका लागि एक लाख ४० हजार तथा सिस्टम, नेटवर्क र डाटाबेस एडमिनिस्ट्रेटरका लागि एक लाख ५० हजार रुपैयाँ पारिश्रमिक प्रस्ताव गरिएको छ।

शैक्षिक योग्यता र प्राविधिक दक्षता अनिवार्य

माग गरिएका पदमा आवेदन दिन सूचना प्रविधिसँग सम्बन्धित विषयमा शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ। प्रमुख प्रविधि विज्ञ र प्रोजेक्ट म्यानेजरका लागि सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण हुनुपर्नेछ भने अन्य पदका लागि कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख छ।

पदअनुसार आवश्यक प्राविधिक दक्षता पनि फरक–फरक तोकिएको छ। प्रमुख प्रविधि विज्ञका लागि प्रविधि रणनीति निर्माण, नेतृत्व, सुरक्षा, सुशासन तथा प्रणाली एकीकरणसम्बन्धी ज्ञान आवश्यक पर्नेछ। प्रोजेक्ट म्यानेजरका लागि योजना निर्माण, समन्वय, जोखिम व्यवस्थापन, परियोजना कार्यान्वयन तथा स्रोत व्यवस्थापनको दक्षता खोजिएको छ।

त्यस्तै, सफ्टवेयर इन्जिनियरिङतर्फ कोड समीक्षा, एपीआई डिजाइन, सुरक्षित सफ्टवेयर विकास र रिलिज व्यवस्थापनसम्बन्धी सीप आवश्यक पर्नेछ। क्वालिटी एनालिसिसतर्फ परीक्षण रणनीति, स्वचालन तथा त्रुटि विश्लेषण र इन्फ्रास्ट्रक्चर तथा अपरेसन्सतर्फ प्रणालीको विश्वसनीयता, सञ्चालन, क्षमता योजना तथा घटना व्यवस्थापनसम्बन्धी दक्षता तोकिएको छ।

सरकारी निकायका सफ्टवेयर प्रणालीको विकास, स्तरोन्नति तथा सञ्चालनलाई थप प्रभावकारी बनाउने उद्देश्यले दक्ष प्राविधिक जनशक्ति माग गरिएको केन्द्रले जनाएको छ।