प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण मङ्सिर दोस्रो साता हुने सङ्केत

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण मङ्सिर दोस्रो साता हुने सङ्केत

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने सङ्केत देखिएको छ। यद्यपि, भ्रमणको मिति भने औपचारिक रूपमा तय भइसकेको छैन। परराष्ट्रमन्त्री शिशिर खनालले आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री शाहको भारत भ्रमण हुने जानकारी दिएका हुन्। उनले भ्रमणको मितिबारे औपचारिक निर्णय हुन बाँकी रहेको स्पष्ट पारे।

प्रधानमन्त्री शाहको भारत भ्रमण मङ्सिर दोस्रो साता हुने चर्चा चलिरहेका बेला मन्त्री खनालले पनि सोही अवधिमा भ्रमण हुन सक्ने सङ्केत गरेका हुन्। ‘तर, आजका दिनसम्म हामीले औपचारिक रूपमा निश्चित गरिसकेका छैनौँ,’ मन्त्री खनालले भने।

वर्तमान सरकार गठन भएदेखि नै भारत सरकारसँग नियमित सम्पर्क भइरहेको जानकारी दिँदै उनले प्रधानमन्त्रीको भ्रमण परिणाममुखी र उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे। ‘भ्रमणका क्रममा व्यापार तथा पारवहन, कनेक्टिभिटी, ऊर्जा र सीमालगायतका विषयमा केही न केही सकारात्मक प्रगति होस् भन्ने हाम्रो चाहना छ,’ मन्त्री खनालले भने।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा ठूला पूर्वाधार तथा जलविद्युत् परियोजनाको उद्घाटन र शिलान्यासका साथै विभिन्न सम्झौतामा हस्ताक्षर हुने बताइएको छ। गत चैत १३ गते वर्तमान सरकारको नेतृत्व सम्हालेयता प्रधानमन्त्री शाहको यो पहिलो भारत भ्रमण हुनेछ।