

सर्लाही (गोडैटा) । नेपाली फिल्म उद्योगमा नाम बनाउने सपना देख्नु जति सुन्दर छ, त्यो सपना पूरा गर्ने यात्रा त्यति नै कठिन हुन्छ। यही यथार्थको जिउँदो प्रतिनिधि हुन् २३ वर्षीय युवा निर्देशक रोशन दास। फिल्म क्षेत्रमा आउनु अघि रोशन दासले म्युजिक भिडियो निर्देशक र गीतकारका रूपमा लामो अनुभव बटुलेका छन्। हालसम्म उनले ७० भन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका छन् भने १० भन्दा बढी गीत लेखिसकेका छन्। निर्देशनका हिसाबले बयान, आदत, रमाउने मान्छे उनका प्रमुख म्युजिक भिडियोहरू हुन्। गीतकारका रूपमा आफ्नै स्वार्थ, नयाँ इतिहास र भूल भयो जस्ता गीतहरू उल्लेखनीय छन्। यसबाहेक, चलचित्र ‘प्रतिवैरम्’ का लागि पनि उनले गीत लेखेका छन्।
यी सबै अनुभवले उनलाई निर्देशकको रूपमा अझ परिपक्व बनाएको छ र फिल्म निर्देशनतर्फ अघि बढ्ने आत्मविश्वास दिएको छ।
पुरस्कार र सम्मान
संघर्षबीच उनले उल्लेखनीय उपलब्धि पनि हासिल गरेका छन्।
वर्ष २०८० – दोस्रो जय प्राप्ति म्युजिक अवार्ड २०८० मा ‘रंग कडा’ म्युजिक भिडियोका लागि सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक।
वर्ष २०८१ – पाँचौं एपिक नेपाल म्युजिक अवार्ड मा ‘आदत’ गीतका लागि सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक।
वर्ष २०८२ – चौथो सिल्भर म्युजिक अवार्ड मा ‘आफ्नै स्वार्थ’ गीतका लागि सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक।
वर्ष २०८२ – सातौं ज्योति फिल्म्स म्युजिक अवार्ड मा ‘बयान’ म्युजिक भिडियोका लागि सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक।
यी अवार्डहरूले उनको मेहनत, दृष्टिकोण र सिर्जनात्मक क्षमताको औपचारिक सम्मान गरेका छन्।
औपचारिक अध्ययन बिना संघर्ष
सर्लाही जिल्लाको गोडैटा क्षेत्रमा जन्मिएका दासले कुनै औपचारिक फिल्ममेकिङ कोर्स नगरी अनुभव, अभ्यास र निरन्तर संघर्षकै बलमा फिल्म क्षेत्रमा पाइला टेकेका हुन्। कोरोना महामारीपछिको कठिन समयमा बुवाको साधारण एन्ड्रोइड मोबाइलबाट भिडियो बनाउँदै उनले आफ्नो यात्राको सुरुवात गरेका थिए।
लकडाउन, वर्षा र संघर्ष
कोरोना महामारीको चरम समयमा काठमाडौं पूरै लकडाउनमा थियो। त्यही बेला ‘सानी’ सिरियलमा काम गरिरहेका दास आफ्नै DSLR क्यामेरा (Canon 77D) बोकेर वर्षातको मौसममा सिनामंगलबाट साँखुसम्म सुटिङ र निर्देशनका लागि यात्रा गर्थे। “त्यो समय सम्झँदा आज पनि शरीरभन्दा मन बढी थाक्छ,” उनी भन्छन्।
उद्योगभित्रको तितो अनुभव
फिल्म उद्योगभित्रका केही अनुभवले उनलाई गहिरो चोट पनि दिएका छन्। एकपटक अनामनगरमा मिटिङका लागि बोलाइएका दासलाई “आउँदै छु” भन्ने आश्वासनमा मैतिदेवी चोकमा करिब आठ घण्टा कुराइयो।
“त्यो दिन म सडकमा बसेर रोएँ,” उनी सम्झिन्छन्। उक्त घटना उनले घर पुगेर आफ्ना बुवासँग बाँडेका थिए।
विदेश जाने तयारी, फेरिएको निर्णय
लगातारको निराशापछि दासले अस्ट्रेलियामा अध्ययनका लागि पासपोर्ट बनाए, IELTS समेत दिए। तर अन्ततः उनले निर्णय बदले। देशमै केही गर्ने अठोटसहित उनले वेब सिरिज ‘आरती’ मा काम सुरु गरे।
साथीहरू विदेशिँदा थप निराशा
‘आरती’ वेब सिरिजले उनलाई चिनायो, तर त्यहीँबाट बनेका उनका नजिकका साथीहरू—HP Kadel, Nutan, Khem Raj Koirala र Paras Kuwar—आज सबै विदेश गइसकेका छन्। “सबैजना विदेशिँदा आफू मात्र यतै संघर्ष गरिरहनु डिमोटिभेटिङ हुन्छ,” दास भन्छन्।
फिल्म ‘प्रतिवैरम्’ : उपलब्धि कि अपूरो सन्तुष्टि?
लामो संघर्षपछि उनले चलचित्र ‘प्रतिवैरम्’ निर्देशन गर्ने अवसर पाए। निर्देशकका रूपमा यो उनको पहिलो फिल्म यात्रा हो। “यो फिल्म मेरो सपना, संघर्ष र विश्वासको परिणाम हो। कथा मैले आफ्नै अनुभव र संवेदनाबाट लेखेको हुँ,” दास भन्छन्। तर फिल्म बने पनि सन्तुष्टि भने अपूरो छ।
“फिल्म सुरु गर्दा टिम ठूलो थियो, तर सुटिङ सकिँदा म एक्लै थिएँ,” उनी भावुक हुँदै भन्छन्। उनका अनुसार यहाँ काम पाउने बेला धेरैले आश्वासन दिन्छन्, तर जिम्मेवारीको समय आउँदा पछि हट्छन्। नयाँ निर्देशक भएकाले स्क्रिप्टदेखि कलाकार छनोट र सुटिङसम्म हरेक चरण चुनौतीपूर्ण रह्यो। धेरैपटक निराशा आयो, तर सपनाले हार मान्न दिएन। फिल्मको सुटिङ दुई चरणमा सम्पन्न गरिएको छ र अहिले पोस्ट–प्रोडक्सनमा छ। आर्थिक कठिनाइ भए पनि उनको आत्मविश्वास कमजोर भएको छैन। “प्रतिवैरम् जसरी बनेको छ, त्यसरी नै इमानदारीका साथ दर्शकसम्म पुर्याउनेछु,” उनी भन्छन्।
साथ दिने केही नामहरू
यति धेरै उतारचढावबीच पनि केही मानिसहरू उनको यात्राका आधारस्तम्भ बने। ‘प्रतिवैरम्’ का मुख्य कलाकार सम्राट दास सुरुदेखि अहिलेसम्म उनको साथमा छन्। कक्षा ८ देखि नै प्रेरणा दिने गुरु दीपेश घिमिरेले उनलाई उद्योग बुझ्न मद्दत गरे। त्यस्तै, वेब सिरिज ‘आरती’ देखि ‘प्रतिवैरम्’ सम्म आर्थिक र मानसिक रूपमा साथ दिने बिक्की शाहलाई दास आफ्नो यात्राको मेरुदण्ड मान्छन्। संघर्ष, निराशा, सम्मान र अधुरो सन्तुष्टिबीच उभिएका २३ वर्षीय निर्देशक रोशन दासको यात्रा अझै जारी छ-सपनाको उज्यालो खोज्दै।