आज पनि वर्षा, चट्याङ र हुरीको सम्भावना, काठमाडौँमा आइतबारसम्म बदली रहने

आज पनि वर्षा, चट्याङ र हुरीको सम्भावना, काठमाडौँमा आइतबारसम्म बदली रहने

काठमाडौँ । देशका विभिन्न भागमा शनिबार दिउँसो र राति पनि वर्षा हुने क्रम जारी रहने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा नेपाल नजिक फैलिएको न्यून चापीय प्रणालीको प्रभावका कारण मौसम बदली भएको हो।

शनिबार बिहान मधेस प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा कोशी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

त्यसैगरी मधेस प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

रातिको समयमा पनि मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा बदली कायम रहनेछ। मधेस, बागमती, गण्डकी, लुम्बिनी, कोशी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

मौसमविद् बिनु महर्जन का अनुसार काठमाडौँ उपत्यकामा रातिदेखि वर्षा भइरहेको छ र शनिबार केही समय मौसम खुले पनि पुनः बदली भई वर्षा हुन सक्ने सम्भावना छ। उनका अनुसार उपत्यकाको मौसम आइतबारसम्म यस्तै रहने देखिएको छ, यद्यपि शनिबारको तुलनामा आइतबार वर्षाको मात्रा केही घट्न सक्छ।

महाशाखाका अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी परे हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म परे मध्यम वर्षा, ५० देखि १०० मिलिमिटरसम्म परे भारी वर्षा मानिन्छ। १०० देखि २०० मिलिमिटर वर्षा भए धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षा भए अति भारी वर्षा भएको मानिनेछ।

त्यस्तै, मौसम पूर्वानुमानमा प्रयोग हुने शब्दावलीअनुसार १० प्रतिशतभन्दा कम भूभागमा वर्षा हुने सम्भावना भए ‘एक–दुई स्थान’, १० देखि ३० प्रतिशतमा ‘थोरै स्थान’, ३० देखि ५० प्रतिशतमा ‘केही स्थान’, ५० देखि ८० प्रतिशतमा ‘धेरै स्थान’ तथा ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुने सम्भावना भए ‘अधिकांश स्थान’ भन्ने उल्लेख गरिने मौसमविद्ले बताएका छन् ।