चारदिने बिदामा मुक्तिनाथमा भक्तजनको अभूतपूर्व भीड, व्यवस्थापनमा चुनौती

चारदिने बिदामा मुक्तिनाथमा भक्तजनको अभूतपूर्व भीड, व्यवस्थापनमा चुनौती

मुस्ताङ । लगातार चार दिनको सार्वजनिक बिदासँगै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर मा दर्शनार्थीको अभूतपूर्व भीड लागेको छ। हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र मानिने मुक्तिनाथ यतिबेला आन्तरिक तथा भारतीय भक्तजनले खचाखच भरिएको छ।

मुक्तिनाथ विकास समितिका अनुसार बिहीबारदेखि शनिबार बिहानसम्म हजारौं श्रद्धालु एकैपटक मन्दिर पुगेपछि दर्शन व्यवस्थापनमा ठूलो दबाब परेको छ। समितिका व्यवस्थापक दिनेश भुसालले सामान्य अवस्थामा दैनिक पाँचदेखि सात हजार दर्शनार्थी आउने गरे पनि पछिल्ला तीन दिनमा २० हजारदेखि २५ हजार जनासम्मले मन्दिर दर्शन गरेको जानकारी दिए। “शुक्रबारदेखि धार्मिक पर्यटकको संख्या अत्यधिक बढेको छ। मन्दिर परिसर भक्तजनले भरिभराउ हुँदा व्यवस्थापन गर्न सुरक्षाकर्मीको सहयोग लिनुपरेको छ,” उनले बताए।

मन्दिर परिसरमा भीड, सुरक्षाकर्मी परिचालन

उच्च हिमाली भेगको भिरालो भू–भागमा अवस्थित मुक्तिनाथ मन्दिरको परिसर तुलनात्मक रूपमा साँघुरो भएकाले ठूलो भीड व्यवस्थापन गर्न कठिनाइ भइरहेको छ। पछिल्ला वर्षमा परिसर केही विस्तार गरिए पनि दर्शनार्थीको संख्या तीव्र रूपमा बढ्दै जाँदा क्षमता अपुग हुन थालेको छ। भीड व्यवस्थापनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। दर्शनलाई व्यवस्थित बनाउन लाइन व्यवस्थापन, तातोपानीको सुविधा तथा लेक लाग्ने समस्या भएका भक्तजनका लागि प्राथमिक उपचारको व्यवस्था गरिएको समितिले जनाएको छ।

तीन दिनमै २५ हजारभन्दा बढी पर्यटक मुस्ताङ प्रवेश

जिल्ला प्रहरी कार्यालय मुस्ताङ का अनुसार पछिल्लो तीन दिनमा २५ हजारभन्दा बढी पर्यटक मुस्ताङ भित्रिएका छन्। प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै बुधबार ५ हजार ५८६, बिहीबार ७ हजार ८२७ र शनिबार ९ हजार ८६ जना पर्यटक मुस्ताङ प्रवेश गरेका छन्। घाँसा प्रहरी चौकीमार्फत सवारीसाधन र पर्यटकको अभिलेख राख्ने गरिएको छ।

होटलहरू भरिभराउ

लगातार सार्वजनिक बिदा र पछिल्लो समय आइतबारसमेत बिदा दिने सरकारी व्यवस्थाले मुस्ताङमा पर्यटकको चहलपहल उल्लेखनीय रूपमा बढेको व्यवसायीहरूको भनाइ छ। लेतेदेखि मुक्तिनाथ क्षेत्रसम्मका अधिकांश होटल तथा आवासगृहहरू यतिबेला भरिभराउ भएका छन्। धार्मिक पर्यटनसँगै स्थानीय व्यापार, होटल व्यवसाय र यातायात क्षेत्रमा समेत सकारात्मक प्रभाव परेको छ। आस्थाको केन्द्र मुक्तिनाथमा भक्तजनको बढ्दो उपस्थितिले धार्मिक पर्यटनको आकर्षण अझ बलियो बनेको छ भने व्यवस्थापन पक्षका लागि चुनौती पनि थपिएको छ।