विश्वकप लक्षित अमेरिकी भिसा नीतिमा आंशिक सहजता, केही समर्थकलाई बन्ड छुट

विश्वकप लक्षित अमेरिकी भिसा नीतिमा आंशिक सहजता, केही समर्थकलाई बन्ड छुट

ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिबीच विश्वकप समर्थकलाई विशेष सहुलियत

काठमाडौं । आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै संयुक्त राज्य अमेरिका ले केही विदेशी फुटबल समर्थकका लागि लागू गरिएको कडा भिसा बन्ड व्यवस्थामा आंशिक सहजता दिने घोषणा गरेको छ । डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले आप्रवासन नियन्त्रण कडा बनाउने नीति अघि बढाइरहेका बेला विश्वकपलाई सफल बनाउन विशेष छुटको व्यवस्था गरेको हो ।

अमेरिकी विदेश मन्त्रालयले बुधबार विश्वकपमा सहभागी टोलीका सदस्य तथा प्रतियोगितामा छनोट भएका देशका टिकट प्राप्त समर्थकहरूलाई भिसा बन्ड अनिवार्य नहुने जनाएको छ । यस्तो सुविधा लिन समर्थकहरूले विश्वकपका लागि बनाइएको प्राथमिकता भिसा प्रणालीमा नाम दर्ता गरिसकेको हुनुपर्ने बताइएको छ ।

हालै लागू गरिएको नयाँ आप्रवासन नीतिअनुसार करिब ५० विकासशील देशका नागरिकलाई अमेरिकी भिसा प्राप्त गर्न पाँच हजारदेखि १५ हजार अमेरिकी डलरसम्म बन्ड रकम बुझाउनुपर्ने व्यवस्था गरिएको थियो । अमेरिका भ्रमणपछि निर्धारित समयमै आफ्नै देश फर्किएमा उक्त रकम फिर्ता गरिने अमेरिकी अधिकारीहरूले बताएका छन् ।

तर विश्वकपलाई ध्यानमा राख्दै अब केही श्रेणीका यात्रुहरूलाई यस व्यवस्थाबाट छुट दिइने भएको हो । अमेरिकी विदेश मन्त्रालयकी कन्सुलर मामिलाकी सहायक विदेशमन्त्री मोरा नामदार ले विश्वकप अवधिमा वैध यात्रालाई सहज बनाउँदै राष्ट्रिय सुरक्षालाई पनि सुदृढ बनाइने बताइन् ।

उनले भनिन्, “हामी आगामी विश्वकप प्रतियोगिताका लागि वैध यात्राको सुविधा दिँदै अमेरिकी राष्ट्रिय सुरक्षा प्राथमिकताहरूलाई अझ मजबुत बनाउन प्रतिबद्ध छौँ ।”

फिफा ले पनि अमेरिकी निर्णयको स्वागत गरेको छ । फिफाले अमेरिकी सरकार र ह्वाइट हाउस टास्क फोर्ससँगको सहकार्यले विश्वकपलाई सफल, रेकर्ड कायम गर्ने र अविस्मरणीय बनाउने विश्वास व्यक्त गरेको छ ।

यद्यपि सहजता दिइए पनि केही देशका समर्थकहरू अझै कठिनाइमा पर्ने देखिएको छ । विश्वकपमा छनोट भइसकेका अल्जेरिया, केप भर्डे, आइभोरी कोस्ट, सेनेगलट्युनिसिया का नागरिक अझै भिसा बन्ड नीतिबाट प्रभावित हुनेछन् ।

त्यस्तै विश्वकपमा छनोट भएका हाइटीइरान का नागरिकमाथि भने ट्रम्प प्रशासनले लगभग पूर्ण प्रवेश प्रतिबन्ध लगाएको छ ।

विशेषगरी अमेरिका, इजरायल र इरानबीच बढ्दो सैन्य तनावपछि इरानी नागरिकमाथि अमेरिकी प्रवेश नीतिमा थप कडाइ गरिएको बताइएको छ ।

यसबीच, मेन्डोजा ल फर्मले गरेको अध्ययनले हाइटीका समर्थकहरू भिसा प्रतिबन्धका कारण विश्वकप हेर्न अमेरिका पुग्न नसक्ने अवस्था आउन सक्ने निष्कर्ष निकालेको छ । अध्ययनअनुसार हाइटीले आफ्ना खेलहरू घरेलु समर्थकविहीन अवस्थामा खेल्नुपर्ने सम्भावना देखिएको छ ।

त्यस्तै बन्ड व्यवस्थाबाट प्रभावित पाँच अफ्रिकी देशका नागरिकका लागि १५ हजार डलर रकम औसत तीन वर्षको आम्दानी बराबर हुने अध्ययनले देखाएको छ । यसले धेरै समर्थकलाई अमेरिका यात्रा गर्न आर्थिक रूपमा असम्भवजस्तै बनाउने विश्लेषण गरिएको छ ।

फिफा विश्वकप २०२६ आगामी जुन ११ देखि सुरु हुनेछ । प्रतियोगिता संयुक्त राज्य अमेरिका, क्यानडामेक्सिको ले संयुक्त रूपमा आयोजना गर्दैछन् ।