गुलशन झाको घातक बलिङमा नेपालद्वारा ओमान ८१ रनले पराजित

गुलशन झाको घातक बलिङमा नेपालद्वारा ओमान ८१ रनले पराजित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोलीले शानदार प्रदर्शन गर्दै ओमान राष्ट्रिय क्रिकेट टोलीलाई ८१ रनले पराजित गरेको छ। नेपालले दिएको २५६ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा १७५ रनमै समेटियो। ओमानका लागि विनायक शुक्लाले ३६, हमाद मिर्जाले ३४, हस्नइन उल वाहवले २९, हस्नइन शाहले १४ तथा नदीम खानले १२ रन बनाए।

नेपालका लागि गुलशन झाले उत्कृष्ट बलिङ गर्दै एक्लैले ५ विकेट लिए। त्यस्तै दीपेन्द्र सिंह ऐरी, करण केसी, नन्दन यादवसन्दीप लामिछानेले समान १–१ विकेट हात पारे।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४९.५ ओभरमा २५६ रनमा अलआउट भएको थियो। नेपालका ओपनर आसिफ शेखले ९४ रनको सानदार पारी खेले भने अर्जुन कुमालले ४८ रन जोडे। दीपेन्द्र सिंह ऐरीले ३३ रन बनाउँदा आरिफ शेखले २४ बलमा ४३ रन जोड्दै अन्तिमतिर लगातार तीन छक्का प्रहार गरे। गुलशन झाले १७ रन बनाए।

कप्तान रोहित पौडेल ९ रनमै आउट भए भने विनोद भण्डारीकरण केसी शून्यमै आउट भए। सन्दीप लामिछाने १ रनमा रनआउट हुँदा नन्दन यादवले २ रन जोडे। ओमानका लागि नदीम खानले ३ विकेट लिए भने शकिल अहमद र हस्नइन शाहले समान २–२ विकेट लिए। जितेन रमानन्दी र आर्यान बिष्टले पनि एक–एक विकेट लिए। यसअघिको भेटमा नेपाल ओमानसँग १०२ रनले पराजित भएको थियो, तर यस पटक उत्कृष्ट प्रदर्शन गर्दै नेपालले शानदार पुनरागमन गरेको छ।