

काठमाडौं । घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गत आज नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
मुख्य प्रशिक्षक स्टुआर्ट लले अघिल्लो खेलको तुलनामा टोलीमा चार परिवर्तन गरेका छन् । ओमानविरुद्ध खेलेका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखसँगै बसिर अहमद र करण केसीलाई विश्राम दिइएको छ ।
उनीहरूको स्थानमा अर्जुन कुमाल, विनोद भण्डारी, नन्दन यादव र ललित राजवंशीलाई प्लेइङ–११ मा समावेश गरिएको छ । यससँगै विनोद भण्डारीले लामो समयपछि सिनियर टोलीमा पुनरागमन गरेका छन् भने अर्जुन कुमालले आजको खेलबाट डेब्यु गर्दैछन् ।
पहिलो खेलमा यूएईलाई ३७ रनले पराजित गरेको नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । लिग–२ को शीर्ष ६ मा रहँदै एकदिवसीय वरियता जोगाउन नेपाललाई जित आवश्यक छ । यसअघि वर्षाले प्रभावित खेलमा नेपाल ओमानसँग डीएलएस पद्धतिअनुसार १०२ रनले पराजित भएको थियो ।
नेपालको प्लेइङ–११:
अर्जुन कुमाल, विनोद भण्डारी, भीम सार्की, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित नारायण राजवंशी ।