कविता कुवँरको ६ विकेटमा नेपालको शानदार जित-भानुआटा ८३ रनले पराजित

कविता कुवँरको ६ विकेटमा नेपालको शानदार जित-भानुआटा ८३ रनले पराजित

काठमाडौं । नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीले आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीअन्तर्गत भानुआटामाथि ८३ रनको प्रभावशाली जित हात पारेको छ। बिहीबार भएको खेलमा नेपालको जितमा कविता कुवँरको घातक बलिङ निर्णायक बन्यो।

यससँगै नेपालले पहिलो राउण्डमा भोगेको हारको बदला समेत लिएको छ। त्यसअघि नेपाल भानुआटासँग २२ रनले पराजित भएको थियो।

नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याएको भानुआटा १६.४ ओभरमै ४९ रनमा अलआउट भयो। भानुआटाका दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके भने चार ब्याटर शून्यमै आउट भए।

नेपालका लागि कविता कुवँरले ३.४ ओभरमा १ मेडन राख्दै मात्र ५ रन खर्चेर ६ विकेट लिइन्। त्यस्तै पूजा महतोरचना चौधरीले समान २–२ विकेट लिए।

यसअघि किगालीस्थित गहंगा इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै १३२ रन बनाएको थियो।

नेपालका लागि ओपनर सम्झना खड्काले ५२ रनको उत्कृष्ट इनिङ्स खेलिन्। पूजा महतोले १९ रन जोड्दा विन्दु रावल ७ रनमा रिटायर्ड हर्ट भइन्। रुवि पोडार १ रनमै आउट भइन् भने कप्तान इन्दु बर्मा ४३ रनमा अविजित रहिन्। कविता कुवँर ६ रनमा नटआउट रहिन्।

जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। ७ खेलमध्ये ४ जित र ३ हारसहित नेपाल ८ अंकमा दोस्रो स्थानमा छ। १२ अंकसहित अमेरिका महिला क्रिकेट टोली शीर्ष स्थानमा रहँदा समान ८ अंक भएको आयोजक रुवान्डा महिला क्रिकेट टोली नेट रनरेटका आधारमा तेस्रो स्थानमा छ। ६ अंक भएको इटाली महिला क्रिकेट टोली चौथो स्थानमा रहँदा २ अंकसहित भानुआटा पुछारमा छ।

नेपालले आफ्नो अन्तिम खेल शुक्रबार इटालीसँग खेल्ने तालिका रहेको छ।