

काठमाडौं । नेपाल–बेलायत उद्योग वाणिज्य सङ्घले अप्रिल २, २०२६ मा DusitPrincess Kathmandu मा सम्मान तथा नेटवर्किङ कार्यक्रम सफलतापूर्वक आयोजना गरेको छ। कार्यक्रममा सङ्घका सदस्यहरू, बेलायती दूतावासका प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, निजी क्षेत्रका अग्रणी व्यक्तित्वहरू तथा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल वाणिज्य सङ्घ लगायतका संस्थाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन सङ्घका अध्यक्ष डा. रोशन राठीले स्वागत मन्तव्यसहित गर्नुभएको थियो। उहाँले नेपाल–बेलायतबीच व्यापार, लगानी तथा व्यावसायिक सम्बन्ध सुदृढीकरणमा सङ्घले निर्वाह गर्दै आएको भूमिकामाथि जोड दिनुभयो।
त्यसैगरी, सङ्घका कोषाध्यक्ष बिध्याबारिधि सिग्देलले नेपाल–बेलायत आर्थिक सम्बन्धबारे प्रस्तुति दिँदै वर्तमान प्रवृत्ति, उपलब्ध अवसर र द्विपक्षीय सहकार्यका सम्भावनाहरूबारे जानकारी गराउनुभयो।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा “नेपालको परिवर्तनशील वैदेशिक प्रत्यक्ष लगानी (FDI): चुनौती र अवसर” विषयमा फायरसाइड च्याट आयोजना गरिएको थियो। उक्त सत्रमा माइकल फोली, टिम गोचर तथा अम्लान मुखर्जीले प्यानेलिस्टका रूपमा सहभागिता जनाएका थिए भने सत्रको सहजीकरण भूषण दाहालले गर्नुभएको थियो। छलफलमा नेपालमा लगानी वातावरण, नीतिगत अवस्था तथा भावी सम्भावनाका विषयमा महत्वपूर्ण धारणा प्रस्तुत गरिएका थिए।
यस अवसरमा सङ्घका मानार्थ निवर्तमान अध्यक्ष राजेन्द्र कुमार खेतानलाई उहाँको दीर्घकालीन योगदानको कदरस्वरूप सम्मान गरिएको थियो। साथै, सङ्घका आजीवन तथा साधारण सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि बेलायती राजदूत रोब फेन रहनुभएको थियो। उहाँले नेपाल–बेलायतबीचको आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै आपसी सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमको समापन सङ्घका उपाध्यक्ष पियुष राज अर्यालले धन्यवाद ज्ञापन गर्दै गर्नुभएको थियो। त्यसपछि आयोजित नेटवर्किङ तथा हाई टी सत्रले सहभागीहरूबीच अन्तरक्रिया र सहकार्य विस्तार गर्ने अवसर प्रदान गरेको थियो।

सङ्घका बारेमा
नेपाल–बेलायत उद्योग वाणिज्य सङ्घ सन् १९९५ मा स्थापना भएको नेपालको अग्रणी द्विराष्ट्रिय वाणिज्य सङ्घमध्ये एक हो। यस सङ्घले नेपाल र बेलायतबीच व्यापार, लगानी तथा आर्थिक सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यका साथ निरन्तर काम गर्दै आएको छ।
विगत तीन दशकदेखि सङ्घले व्यवसायहरूबीच सम्बन्ध विस्तार, संवाद प्रवर्द्धन, नीतिगत सहजीकरण तथा उद्यमहरूका लागि अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। साथै, व्यापारिक सहकार्य विस्तार, प्रतिनिधिमण्डल आदानप्रदान, प्रविधि हस्तान्तरण र निर्यात विकासमा समेत सङ्घ सक्रिय रहँदै आएको छ।
