

काठमाडौं । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको आईसीसी टी–२० विश्वकप २०२६ को फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै भारत च्याम्पियन बनेको छ। यससँगै भारत टी–२० विश्वकप तीन पटक जित्ने पहिलो देश बनेको छ।
भारतले यसअघि सन् २००७ र २०२४ मा उपाधि जितेको थियो भने अब २०२६ मा तेस्रो पटक ट्रफी उचालेको हो। साथै भारत लगातार दोस्रो पटक टी–२० विश्वकप जित्ने टोली पनि बनेको छ।
फाइनलमा भारतले न्युजिल्यान्डलाई २५६ रनको लक्ष्य दिएको थियो। तर न्युजिल्यान्ड १९ ओभरमा १५९ रनमै अलआउट भयो र भारतले ९६ रनको फराकिलो जित हासिल गर्यो।
भारतको जितमा बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। जसप्रीत बुमराहले चार ओभरमा १५ रन मात्र खर्चेर चार विकेट लिए। अक्षर पटेलले तीन ओभरमा २७ रन दिँदै तीन विकेट लिएर महत्वपूर्ण योगदान दिए।
यसअघि सञ्जु सामसन, इशान किशन र अभिषेक शर्माको आक्रामक ब्याटिङका कारण भारतले २० ओभरमा २५५ रनको विशाल स्कोर बनाएको थियो। अभिषेक शर्माले २१ बलमा ५२ रन बनाउँदा सञ्जु सामसनले ३३ बलमा अर्धशतक पूरा गर्दै ८९ रन बनाए। इशान किशनले पनि ५४ रनको महत्वपूर्ण पारी खेले।
जसप्रीत बुमराहलाई उत्कृष्ट प्रदर्शनका लागि ‘प्लेयर अफ द म्याच’ घोषित गरियो भने प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका सञ्जु सामसन ‘प्लेयर अफ द टूर्नामेन्ट’ बने।
न्युजिल्यान्डका लागि टिम सिफर्टले २६ बलमा ५२ रन बनाउँदै अर्धशतक पूरा गरे भने कप्तान मिचेल स्यान्टनरले ४३ रन बनाए। तर उनीहरूको प्रयास टोलीलाई हारबाट जोगाउन पर्याप्त हुन सकेन।
यससँगै भारतीय टोलीले पछिल्ला २० महिनामा तेस्रो आईसीसी उपाधि जित्न सफल भएको छ। भारतले जुन २०२४ मा टी–२० विश्वकप, मार्च २०२५ मा आईसीसी च्याम्पियन्स ट्रफी र अब २०२६ मा पुनः टी–२० विश्वकप जितेर आफ्नो वर्चस्व कायम राखेको छ।