

काठमाडौं । CG Electronics ले आफ्नो साझेदार Classy Clean सँग सहकार्य गर्दै LG द्वारा सञ्चालित नेपालकै पहिलो लन्ड्री लाउन्ज काठमाडौँको कार्यविनायक, भैंसेपाटीमा सञ्चालनमा ल्याएको छ। अत्याधुनिक LG प्रोफेसनल–ग्रेड वासर र ड्रायरमा आधारित यो लन्ड्री लाउन्ज नेपालमा लन्ड्रोम्याट सेवाको नयाँ अवधारणाका रूपमा प्रस्तुत गरिएको हो।
LG लन्ड्री लाउन्जले उच्चस्तरीय प्रोफेसनल उपकरण र आकर्षक भिजुअल पहिचानलाई एउटै स्थानमा समेट्दै ग्राहकलाई आधुनिक, आरामदायी र फरक अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ। यहाँ लुगा धुने कार्य केवल दैनिकी नभई डिजाइनर शैलीमा सजाइएको वातावरणमा सहज र रमाइलो अनुभव बन्नेछ।
यस लन्ड्री लाउन्जको सञ्चालन CG का साझेदार Classy Clean ले गरिरहेको छ। यहाँ जडान गरिएको LG कमर्सियल लन्ड्री सिस्टमले उच्च गुणस्तरीय धुने तथा सुकाउने सेवा प्रदान गर्दछ। LG का कमर्सियल मेसिनहरूले प्रभावकारी सरसफाइ, पानी तथा ऊर्जाको दक्ष उपयोग, कपडाको राम्रो हेरचाह र भरपर्दो स्यानिटाइजेसन सुनिश्चित गर्छन्। ड्रायरहरूले उच्च तापक्रमको हावाबाट कपडालाई स्यानिटाइज समेत गर्ने सुविधा उपलब्ध गराउँछन्।
ग्राहकहरूले हप्ताको सातै दिन बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सेवा लिन सक्नेछन्। साथै, ड्रप–अफ र पिक–अप सेवासमेत उपलब्ध गराइएको छ। लन्ड्री लाउन्जको उद्घाटन चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र LG Bangladesh का प्रबन्ध निर्देशक जेराल्ड चुनले संयुक्त रूपमा गरेका हुन्।
