चाडपर्व लक्षित बजार अनुगमन आगामी सातादेखि सुरु गर्ने कामपाको तयारी

चाडपर्व लक्षित बजार अनुगमन आगामी सातादेखि सुरु गर्ने कामपाको तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी सातादेखि चाडपर्व लक्षित बजार अनुगमन सुरु गर्ने तयारी गरेको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण एक हप्ता ढिलाइ भएको बजार अनुगमन दशैं नजिकिँदै गर्दा सञ्चालन गर्न लागिएको हो ।

कामपाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेका अनुसार आन्दोलनका कारण सरकारका संयन्त्रहरू पूर्ण रूपमा काममा फर्कन नसके पनि अबको सातादेखि बजार व्यवस्थापन र उपभोक्ता हित संरक्षणका लागि अनुगमन थालिनेछ ।

अनुगमन टोली उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा रहनेछ । टोलीमा केन्द्रका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी र अन्य सम्बन्धित निकायको समेत सहभागिता रहनेछ । टोलीले प्रदर्शनी मार्गस्थित टुकुचा तरकारी बजार, खसी बजार, खाद्य संस्थान सुपथ बिक्री कक्षलगायत प्रमुख बिक्री केन्द्रहरूको अनुगमन गर्ने तयारी गरेको छ ।

कामपाले विगतका वर्षहरूमा पनि सुपरमार्केट तथा खाद्य वस्तु पसलहरूको मूल्य, उत्पादन मिति, म्याद सकिने मिति र अधिकतम मूल्यको आधारमा अनुगमन गर्दै उपभोक्तालाई सचेत गराउँदै आएको छ । अनुगमनका क्रममा कमजोरी भेटिएमा वा उपभोक्तालाई ठगी गरे कानुनअनुसार जरिवाना र थप कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

बर्खामा पिउने पानीका जारमा गरिएको अनुगमनबाट करिब ३०० मापदण्डविपरीतका जार नष्ट गरिएको थियो भने उपभोक्ताको उजुरीका आधारमा होटल तथा मिठाई पसलमा कारबाही गर्दै करिब दुई लाख रुपैयाँ जरिवाना गरिएको कामपाले जनाएको छ ।

कामपाले उपभोक्ताले पनि सचेत भई स्वच्छ, गुणस्तरीय र सुपथ मूल्यका सामान किन्नुपर्नेमा जोड दिएको छ ।