

काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचना पुनर्निर्माण र फागुन २१ गते तय भएको प्रतिनिधिसभा चुनावका लागि बजेट स्रोत व्यवस्थापन गर्न अर्थ मन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको छ।
कार्यदलमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री रहेका छन्।
अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार कार्यदलले हालको बजेटभित्र रहेका केही योजना र कार्यक्रम कटौती गरी स्रोत व्यवस्थापन गर्न सकिने सम्भाव्यता अध्ययन गर्नेछ। निर्वाचन र पुनर्निर्माणका लागि आवश्यक बजेट जुटाउन सम्भावनाका क्षेत्र पहिचान गर्न र प्राथमिकता निर्धारण गर्न कार्यदललाई अधिकार दिइएको छ।
हिजो कार्यभार सम्हाल्दै नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनालले चालू आर्थिक वर्ष २०८२/८३ को बजेटमा राजनीतिक दबाबमा समावेश, पूर्वतयारी नसकिएका र टुक्रा–टुक्रा परेका योजनालाई कटौती गरेर पुनर्निर्माण र चुनावका लागि करिब १ खर्ब रुपैयाँ बराबर स्रोत जुटाउन सकिने बताएका थिए।