

काठमाडौं। गर्मीमा सबैको मनपर्ने फल तरबुजा स्वादिष्ट मात्र नभई शरीरलाई चिसो राख्ने र पानीको कमी मेटाउने प्राकृतिक उपाय हो। तर प्रायः हामीले गल्ती गरेर यसको कालो दाना फालिदिन्छौं। वास्तवमा यिनै बीउहरूमा अनगिन्ती स्वास्थ्य फाइदा लुकेका हुन्छन्।
अध्ययनहरूले देखाएका छन् कि तरबुजाका दाना पाचनदेखि लिएर मुटु स्वास्थ्यसम्मका लागि लाभदायी हुन्छन्। यहाँ यी दानाको प्रमुख फाइदा उल्लेख गरिएको छः
पेट र पाचन सफा गर्न
तरबुजाको दानामा प्रशस्त फाइबर पाइन्छ, जसले पाचन प्रणालीलाई स्वस्थ राख्छ। कब्जियतको समस्या हुनेलाई विशेष फाइदा गर्छ। सुकेको दाना पिसेर बिहान खाली पेट मनतातो पानीसँग सेवन गर्दा पेट सफा रहन्छ।
मधुमेह नियन्त्रण
यी दानामा पाइने म्याग्नेसियमले रगतमा चिनीको मात्रा सन्तुलनमा राख्छ। इन्सुलिन संवेदनशीलता बढाएर मधुमेह नियन्त्रणमा सहयोग गर्छ। बीउ उमालेको पानी (चिया) दिनमा एक पटक पिउनाले लाभ हुन्छ।
मुटुको स्वास्थ्यका लागि
बीउमा रहेको ओमेगा–६ फ्याटी एसिड र म्याग्नेसियमले मुटुलाई बलियो राख्छ, कोलेस्ट्रोल घटाउँछ र हृदयघातको जोखिम कम गर्छ।
छाला र कपालको लागि वरदान
जिंक, प्रोटीन र आइरनले भरिएका यी दानाले कपाललाई मजबुत बनाउँछन्, छालालाई चम्किलो र ताजा राख्छन्। यिनले बुढ्यौली ढिल्याउँछन्। बजारमा पाइने तरबुजाको बीउको तेल छालामा वा कपालमा लगाउँदा थप फाइदा हुन्छ।
रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
आइरन, म्याग्नेसियम र फस्फोरसजस्ता पोषक तत्वले रोगसँग लड्ने क्षमता बढाउँछन्। भुटेर खाइने यी दानाले भाइरल इन्फेक्सनबाट जोगाउँछन्।
यी दानालाई स्मूदी, सलादमा टपिङको रूपमा प्रयोग गर्न सकिन्छ वा पाउडर बनाएर दूध वा पानीमा मिसाएर सेवन गर्न सकिन्छ। अबदेखि तरबुजा खाँदा यसको दाना फाल्नु हुँदैन, बरु स्वास्थ्यका लागि उपयोग गर्न थालौं।