

काठमाडौं: दैनिक जीवनमा अत्यावश्यक पोषणको स्रोत मानिने दूधको शुद्धता प्रति हाल उपभोक्ताहरूको चिन्ता बढ्दो छ। बजारमा पाइने मिसावटयुक्त दूधले स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले घरमै दूध शुद्ध छ वा छैन भन्ने जाँच गर्ने केही प्रभावकारी घरेलु तरिका अपनाउन सकिन्छ।
१. उमाल्दा सतहमा क्रिमको तह हेर्नुहोस्
शुद्ध दूध उमाल्दा त्यसको माथिल्लो सतहमा बाक्लो क्रिमको तह बस्छ। यदि दूधमा मिसावट छ भने यो तह थोरै मात्र हुन्छ वा बिल्कुलै हुँदैन। यो दूधको शुद्धता परीक्षण गर्ने सबैभन्दा सजिलो तरिका हो।
२. पानी मिसावट परीक्षण
एउटा गिलासमा दूध हालेर त्यसको माथि एक थोपा दूध थप्नुहोस्। यदि त्यो सीधा बसेर सेतो धार बनाउँछ भने दूध शुद्ध मानिन्छ। तर, त्यो फैलियो भने दूधमा पानी मिसाइएको संकेत हुन सक्छ।
३. डिटर्जेन्ट मिसावट परीक्षण
५ एमएल दूधमा ५ एमएल पानी मिसाएर राम्ररी हल्लाउँदा अत्यधिक फोम बनेर साबुनजस्तै लागेमा डिटर्जेन्ट मिसिएको हुनसक्छ। यस्तो दूध स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन्छ।
४. स्टार्च (पिठो) मिसावट पहिचान
एक चम्चा दूधमा केही थोपा आयोडिन टिंचर हाल्दा यदि रंग नीलो भयो भने दूधमा स्टार्च मिसाइएको बुझिन्छ। यस्तो मिसावटले दूध बाक्लो देखिन्छ र मूल्य बढाउन प्रयोग गरिन्छ।
५. युरिया परीक्षण
५ एमएल दूधमा सोयाबिनको धूलो हालेर त्यसमा हाइड्रोक्लोरिक एसिड थप्दा केही मिनेटमा रातो रङ देखिएमा दूधमा युरिया मिसाइएको संकेत मिल्छ। युरिया शरीरका लागि अत्यन्त हानिकारक हुन्छ।
६. सिंथेटिक दूधको चिनारी
सिंथेटिक दूधमा रासायनिक गन्ध, डिटर्जेन्ट, युरिया आदि हुन्छन्। यसलाई उमाल्दा क्रिम नबनी फोम मात्र देखिन्छ, र हातमा दल्दा साबुनजस्तो लाग्छ। यसको स्वाद पनि सामान्य दूधभन्दा फरक हुन्छ।
यी सरल घरेलु उपायहरू अपनाएर उपभोक्ताले दूधको शुद्धता सजिलै पहिचान गर्न सक्ने भएकाले स्वास्थ्यलाई सुरक्षित राख्न यस्ता परीक्षण गर्न महत्त्वपूर्ण हुन्छ।