कालो भइसकेको चिया जाली सफा गर्ने सजिलो घरेलु उपाय

कालो भइसकेको चिया जाली सफा गर्ने सजिलो घरेलु उपाय

काठमाडौं : धेरै मानिसहरूका लागि दिनको सुरुवात एक कप तातो चियाबाट हुने गर्छ। कतिपय परिवारमा त दिनभरि नै चिया पिउने चलन छ, पाहुना सत्कारदेखि परिवारबीचको रमाइलोसम्म चियाले जोड्ने गर्छ। तर बारम्बार प्रयोग गरिँदा चिया छान्ने जाली फोहोर हुँदै जान्छ, कालो र चिल्लो बन्छ, जसले गर्दा चिया राम्ररी छानिन्न र जाली नै फाल्नुपर्ने अवस्था आउन सक्छ।

यद्यपि, यदि तपाईंको चिया जाली कालो भइसकेको छ भने त्यसलाई नयाँ जस्तै चम्किलो बनाउन एकदमै सजिलो उपाय अपनाउन सकिन्छ, त्यो पनि कुनै महँगो रासायनिक पदार्थ बिना।

यस्तो छ चिया जाली सफा गर्ने घरेलु तरिका

-सबैभन्दा पहिले चिया जालीलाई सिधै ग्याँसको आगोमा राख्नुहोस्।

-यसो गर्दा जालीमा जमेको फोहोर जलेर कार्बनमा परिणत हुन्छ।

-जब जालीबाट हल्का धुवाँ आउन थाल्छ र तात्तिन्छ, तब ग्याँस बन्द गर्नुहोस्।

-त्यसपछि जालीलाई केहीबेर चिसो हुन दिनुहोस्।

-अब डिशवाश लिक्विड र ब्रसको सहायताले राम्ररी रगडेर सफा गर्नुहोस्।

यस विधिबाट स्टील वा फलामका चिया जालीहरू पूर्ण रूपमा सफा र चम्किला हुने गर्छन्। तर ध्यान दिनुहोस्—प्लास्टिकका जालीहरूलाई यसरी ग्याँसमा राख्न हुँदैन।

यदि तपाईं चिया प्रेमी हुनुहुन्छ भने यो सानो उपायले तपाईंको भान्साको झन्झट कम मात्र गर्दैन, तपाईंको पुरानो जालीलाई पनि नयाँ जस्तै बनाउन सहयोग गर्छ।