सन् २०३५ सम्म खाद्यान्नको मूल्य दोब्बर हुने, तापक्रम वृद्धिले निद्रामा समेत असर

सन् २०३५ सम्म खाद्यान्नको मूल्य दोब्बर हुने, तापक्रम वृद्धिले निद्रामा समेत असर

काठमाडौं । जलवायु परिवर्तनका कारण तापक्रम दिनानुदिन बढ्दै गएसँगै सन् २०३५ सम्ममा खाद्यान्नको मूल्य दोब्बरले बढ्ने अनुमान गरिएको छ।

युरोपेली केन्द्रीय बैंकले गरेको एक अध्ययन अनुसार जलवायु परिवर्तनका कारण गहिरिँदो कृषि संकटले खाद्य उत्पादनमा गिरावट ल्याउने भएकाले आगामी १० वर्षमा खाद्यान्नको मूल्य तीव्र रूपमा वृद्धि हुने देखिएको हो।

बैंकले विश्लेषण गरेका तथ्यांक अनुसार तापक्रम वृद्धिको प्रभावले मुद्रास्फीति वार्षिक ०.५ देखि १.२ प्रतिशतको दरले बढ्नेछ, जसले खाद्यवस्तुको मूल्यमा दोब्बर वृद्धि गराउनेछ।

यता जलवायु परिवर्तनले मानव स्वास्थ्यमा समेत प्रत्यक्ष असर पार्न थालेको छ। तापक्रम बढेसँगै मानिसको निद्रामा समेत गम्भीर समस्या देखिन थालेको वैज्ञानिकहरूले बताएका छन्।

चीनको फुडान विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले दुई करोडभन्दा बढी मानिसको रातको निद्रा अध्ययन गर्दा, कुनै रात तापक्रम १० डिग्रीले बढेमा पर्याप्त निद्रा नपाउने सम्भावना २० प्रतिशतले बढ्ने निष्कर्ष निकालेका छन्।

अनुसन्धानकर्ताहरूका अनुसार यदि तापक्रम वृद्धिको यही दर कायम रह्यो भने यो शताब्दीको अन्त्यसम्म चीनका प्रत्येक व्यक्तिले वार्षिक औसत ३३ घण्टासम्म निद्रा गुमाउने छन्।