

काठमाडौं । यस वर्षको मनसुन अवधिमा नेपालसहित दक्षिण एसियामा सामान्यभन्दा बढी वर्षा र तापक्रम हुने प्रक्षेपण गरिएको छ। भारतको पुणेमा सम्पन्न दक्षिण एसियाली मौसमी पूर्वानुमान मञ्च (सास्कोफ) को ३१औं बैठकले यो जानकारी दिएको हो।
बैठकमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान, माल्दिभ्स, अफगानिस्तान र म्यानमारका मौसमविद्हरूसँगै विश्व मौसम संगठन र भारत मौसम विभागका विज्ञहरू सहभागी थिए। उनीहरूले सन् २०२५ को मनसुनबारे संयुक्त मौसमी प्रक्षेपण सार्वजनिक गरेका हुन्।
सास्कोफका अनुसार हाल एल निनो–दक्षिणी दोलन (ENSO) र हिन्द महासागर द्विध्रुवीयता (IOD) तटस्थ अवस्थामा छन्, र मनसुन अवधिभर ती यस्तै अवस्थामा रहने सम्भावना छ। तथापि, मौसममा अनिश्चितता हुने भएकाले नियमित अद्यावधिक पूर्वानुमान हेर्न विज्ञहरूले सुझाव दिएका छन्।
नेपालको सन्दर्भमा जल तथा मौसम विज्ञान विभागले चाँडै राष्ट्रिय प्रक्षेपण सार्वजनिक गर्ने तयारी गरेको छ। विभाग प्रमुख कमलराज जोशीका अनुसार, सास्कोफको प्रक्षेपण सामान्यतया नेपालमा मिल्ने गरेको अनुभव छ।
सास्कोफको नक्साअनुसार पूर्वी नेपालमा सरदर वर्षा, मध्य भागमा सरदरभन्दा केही बढी, र सुदूरपश्चिममा सरदरभन्दा धेरै वर्षा हुने सम्भावना देखिएको छ। जुनदेखि सेप्टेम्बरसम्मको अवधिलाई मनसुनको समय मानिन्छ, जसमा नेपालमा कुल वार्षिक वर्षाको ७०–८० प्रतिशत पानी पर्छ।
सास्कोफले यस वर्ष न्यूनतम र अधिकतम तापक्रम पनि सामान्यभन्दा बढी हुने उल्लेख गरेको छ। यस्तो अवस्थामा बाढी, पहिरो, डुबान, कटानलगायत प्राकृतिक प्रकोपको जोखिम उच्च रहने भएकाले समयमै पूर्वतयारी गर्न विज्ञहरूले सुझाव दिएका छन्।
विपद् विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार, अधिक वर्षाले पहाडी तथा हिमाली क्षेत्रमा पहिरो र तराई मधेशमा डुबान तथा नदी कटानको जोखिम बढ्नेछ। “पूर्वतयारी नहुँदा सडक अबरुद्ध, मानवीय क्षति र खाद्य संकट जस्ता समस्या आउन सक्छन्,” उनले भने।
विज्ञहरूले असमान वर्षा र तापक्रम वितरणले पानीको स्रोत, कृषियोग्य जमिन, बाली चक्र र मानव स्वास्थ्यमा प्रभाव पार्ने जनाउँदै बाढी पूर्वानुमान प्रणाली, विपद् व्यवस्थापन योजना, बीउको विविधीकरण तथा मौसमअनुकूल प्रविधिको प्रयोग गर्न आग्रह गरेका छन्।