द्वन्द्वको घाउ अझै निको भएको छैन: पीडित परिवारको न्यायको खोजी

द्वन्द्वको घाउ अझै निको भएको छैन: पीडित परिवारको न्यायको खोजी

-अन्जनी कोइराला-

करिब ११ वर्ष चलेको सशस्त्र द्वन्द्वको घाउ आज दुई दशक बितिसक्दा पनि पूर्ण रूपमा निको भएको छैन। पीडित परिवारहरू अझै न्यायको प्रतीक्षामा छन्, तर राज्य संयन्त्रमा रहेका व्यक्तिहरूले तिनको पीडालाई बुझ्नेभन्दा बिर्साउनेतर्फ बढी ध्यान दिइरहेका छन्।

पीडितका आवाज दबाउने प्रयास

द्वन्द्वको समयमा अन्याय भोगेका परिवारहरू संगठित भएर आफ्ना माग उठाइरहे पनि संख्यात्मक रूपमा कमजोर भएकाले उनीहरूको आवाज राज्यसम्म प्रभावकारी रूपमा पुग्न सकेको छैन। द्वन्द्वकालीन घटनामा संलग्न नेताहरू र तिनका समर्थकहरू अहिले सत्ता सञ्चालन गरिरहेका छन्, जसका कारण पीडितहरूको मागप्रति बेवास्ता गरिएको छ।

निष्पक्ष छानबिन र आयोगहरूको विश्वसनीयता

द्वन्द्वकालीन घटनाको छानबिन गर्न बनेका सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगलाई ‘पेन्डुलम’ बनाएर राखिएको छ। यी आयोगहरूलाई सत्ताका शक्तिशाली व्यक्तिहरूको रेखदेखमा सीमित दायराभित्र राख्ने प्रयास भइरहेको छ। आयोगका सदस्यहरू स्वतन्त्र हुनुपर्नेमा राजनीतिक आस्थाका आधारमा नियुक्त गरिएको देखिन्छ, जसले निष्पक्ष छानबिनमा अवरोध पुर्‍याइरहेको छ।

व्यक्तिगत पीडा: पिताको हत्या र अन्यायको सामना

सिन्धुलीका बशिष्ठ कोइरालालाई २०६० साल असोज २६ गते माओवादी कार्यकर्ताहरूले अपहरण गरी २७ गते हत्या गरे। बुबा समाजसेवी हुनुहुन्थ्यो, तर गाउँमै बसेर सक्रिय राजनीतिमा संलग्न भएकै कारण उहाँको हत्या गरियो। माओवादी भित्रै उहाँको हत्या गर्न नहुने पक्ष थियो, तर अन्ततः उहाँलाई मारियो। हत्या गरिसकेपछि परिवारले सत्य जान्न धेरै प्रयास गर्‍यो, तर वर्षौंसम्म कुनै आधिकारिक जानकारी दिइएन। अन्ततः २०६६ सालमा मात्र परिवारलाई उहाँको हत्या भएको प्रमाणपत्र दिइयो।

न्यायको खोजी र राज्यको भूमिका

द्वन्द्व पीडित परिवारहरूको माग केवल न्याय हो। द्वन्द्वमा संलग्न पक्ष र द्वन्द्वमा संलग्न नभएका निर्दोष नागरिकहरूमाथि भएका घटनालाई अलग रूपमा हेर्नु आवश्यक छ। जो सशस्त्र संघर्षमा थिए, तिनको अवस्था फरक हुन सक्छ, तर द्वन्द्वसँग कुनै सम्बन्ध नभएका निर्दोष नागरिकहरू मारिनु गम्भीर अपराध हो। राज्यले निष्पक्ष रूपमा अनुसन्धान गरी दोषीहरूलाई कानुनी कारबाही गर्नुपर्छ।

द्वन्द्व सकिएको २२ वर्ष भइसक्दा पनि पीडित परिवारहरूले न्याय पाएका छैनन्। उनीहरूको माग स्पष्ट छ— अपराधीलाई कानुनी कठघरामा ल्याइयोस्, पीडित परिवारलाई न्याय दिइयोस्, र द्वन्द्वको पीडा साँचो अर्थमा सम्बोधन गरियोस्।

(वि.सं. २०६० साल असोजमा तत्कालीन नेकपा माओवादीका कार्यकर्ताद्वारा हत्या गरिएका सिन्धुलीका कांग्रेस नेता बशिष्ठ कोइरालाका छोरा अन्जनी कोइरालासँग नेपाल न्यूज बैंकले गरेको कुराकानीमा आधारित)