‘ललितपुरलाई मेलम्चीको पानी आवश्यक छैन’

‘ललितपुरलाई मेलम्चीको पानी आवश्यक छैन’

‘ललितपुरमा स्वास्थ्य बीमा कार्यक्रममा किन विभेद ?’

ललितपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा.तोसिमा कार्कीले देशभर अहिलेसम्म २६ प्रतिशतले मात्र स्वास्थ्य बीमा लिएको बताएकी छन् । उनले ललितपुरमा स्वास्थ्य बीमा कार्यक्रम ल्याउनु सफल भएको भन्दै उनले स्वास्थ्य बीमामा सबैजना नजोडिएको बताइन् ।

‘७७ जिल्ला मध्य ७६ जिल्लामा स्वास्थ्य बीमा आउँदा ललितपुरमा आएन्,के ललितपुरले स्वास्थ्य बीमा नपाउने हो र ? मैले पटक पटक आवाज उठाएको थिएँ । स्वास्थ्य बीमा बोर्ड, स्वास्थ्य मन्त्रालय, महानगरसँग, पाटन अस्पतालसँग समन्वय गरेर स्वास्थ्य बीमा ल्याउन सफल भयौं । यसलाई उपलब्धि रुपमा लिन्छु, सामुहिक प्रयासबाट काम भएको हो । यसले थप हौसला दिएको छ । देशभर अहिलेसम्म २६ प्रतिशतले मात्र स्वास्थ्य बीमा लिएको र ललितपुरमा बीमा कार्यक्रममा सबैभन्दा कान्छो हो । जिल्लाबासी सबैजनाले स्वास्थ्य बीमा लिनुहोला,’ उनले भनिन् ।

ललितपुरको आफ्नो क्षेत्रमा खानेपानीको समस्या भएपनि स्रोतको सदुपयोग गर्न नसकिएको बताइन् । उनले उक्त क्षेत्रमा मेलम्चीको खानेपानी आवश्यक नपर्ने र आफ्नै स्रोतबाट पर्याप्त खानेपानी उपलब्ध गराउन सकिने धारणा राखिन् ।

‘वास्तबमा यहाँका पानीका स्रोतहरुलाई सही तरिकाले उपभोग गर्ने हो भने मेलम्ची ललिपुरमा आवश्यक पर्दैन् । खानेपानी मन्त्रालयमा दुईतीन जना मन्त्रीहरु चेन्ज हुनुभयो । उहाँहरुसँग संवाद गरेको छु, पत्र लेखेको छु र वैकल्पिक स्रोतहरु खोजौं भनेको छु । दक्षिणकाली, ठोस्नेखोला, तीनधारा, सरस्वती कुण्ड, ढुङगेधाराहरुको अवलोकन गरेर मेलम्ची आवश्यक नपर्ने देखेको हुँ । ढुङगेधाराहरुलाई वितरण प्रणालीमा लैजान सकिन्छ कि भनेर अध्ययन गरेका छौं,’ उनले भनिन् ।

सांसद डा. कार्कीले उपत्यकाका सडकहरुमा जथाभावी टिप्परहरु गुड्ने गरेकाले त्यसको निश्चित रुट बनाउनुपर्ने धारणा राखिन् । ‘टिपरहरु अनिवार्य रुपमा म्यान्डेटरी रुपमा करिडोरको बाटोमात्र प्रयोग गर्न दिनुपर्छ । त्यसको लागि करिडोर क्षेत्रको बाटो चाँडो भन्दा चाँडो निर्माण हुनुपर्छ,’ उनले भनिन् ।

ललितपुर क्षेत्रमा अवैधरुपमा चलिरहेको क्रसर उद्योगहरु अनुसन्धान गरेर कारवाहीको दायरामा आउन पनि उनले माग गरिन् । ‘अनुमति पत्र, लाइसेन्सको खोजी हुनुपर्छ । टिपरहरुको रोड र तौल परमिटको खोजी हुनुपर्छ,’ उनको भनाइ थियो ।

डा.कार्कीले आफूहरु नयाँ राजनीतिक दल भएकाले काम गर्न धेरै चुनौतिहरुको सामना गरिरहेको बताउँदै नयाँ अभियानको रुपमा काम गर्ने सोचमा रहेको बताइन् । ‘नयाँ दल भएकाले संगठन संरचना छैन । स्रोत छैन, विगतमा निर्वाचन क्षेत्र बिकास कोषबाट बर्षेनी पाँच करोड करोड छुट्याइन्थो । हामीले नै हटाउनुपर्छ भनेर आवाज उठायौ, सांसदहरुलाई ठेकेदार बनाउनुहुन्न भनेर कुरा अघि बढाउँदा आम नागरिकले अझै बुझ्नु भएको छैन । म यहाँबाट बुझाउन चाहन्छु, संघीय सांसदको हकमा उसले आफ्नै योजनाहरु ल्याएर आफ्नो क्षेत्रमा खर्च गर्न पाउनेगरी संघका मन्त्रालयहरुसँग समन्वय गर्ने, महानगर, नगर, वडाहरुसँग समन्वय गरेर योजनाहरु ल्याउन प्राथमिकतामा राख्नुपर्छ,’ उनले भनिन् ।
डा.कार्कीले उपल्लो निकायसम्म दलीयकरण हुने, कार्यकर्ता भर्ति गर्ने क्रम चलिरहेकाले लोकतन्त्रमा प्रत्येक नागरिक सरकारको प्रतिपक्षका रुपमा काम गर्नुपर्ने औंल्याइन् ।