काठमाडौं । माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व आज देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गरी मनाइँदै छ। यस अवसरमा काठमाडौंको हनुमानढोका दरबारस्थित नासलचोकमा बिहान ०७:५५ बजे वसन्त श्रवण समारोह आयोजना गरियाे।
यसैगरी, देशभरका विभिन्न सरस्वती मन्दिर तथा शिक्षालयहरूमा निष्ठापूर्वक देवी सरस्वतीको पूजा–आराधना भइरहेको छ। चन्द्रमाजस्तो गोरो वर्णकी, हातमा वीणा र पुस्तक लिएकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, वागीश्वरी, हंसवाहिनी लगायत विभिन्न नामले पुकार्छन्।
विद्या र सिर्जनाकी देवी सरस्वतीको विशेष पूजा गर्ने परम्पराअनुसार साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीहरूले कलम, कापी, कुची तथा वाद्ययन्त्रहरूलाई देवीको रूपमा पूज्ने गर्छन्। तान्त्रिक साधकहरूले समेत सरस्वतीलाई तान्त्रिक सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्ने गर्छन्।
सूर्य उत्तरायण हुँदै वसन्त ऋतु प्रारम्भ हुने विश्वासका आधारमा यो दिनलाई ‘वसन्त पञ्चमी’ नाम दिइएको हो। ऋग्वेदमा वाग्देवीका रूपमा उल्लेखित देवी सरस्वतीको पूजा उपासनाले ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने धार्मिक मान्यता रहेको छ।
आजको दिनलाई शुभ मानिँदै विवाह, व्रतबन्ध, गुफा राख्ने, बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्न नपर्ने मान्यता छ। साथै, बालबालिकाको शिक्षारम्भ गराउने तथा नाक–कान छेड्नका लागि पनि यो विशेष दिनलाई शुभ मानिन्छ।
काठमाडौं उपत्यकाका डिल्लीबजार, स्वयम्भू, मैतीदेवी, गैरीधारास्थित नीलसरस्वती मन्दिर, ललितपुरको लेले तथा देशभरका अन्य सरस्वती मन्दिरहरूमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ। धार्मिक विश्वासअनुसार, सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या, बुद्धि र चेतनाको ज्योति प्राप्त हुने मान्यता रहेको छ।