

काठमाडौं । ‘हाम्रो साझा भविष्यका लागि सिमसार क्षेत्रको संरक्षण’ भन्ने नाराका साथ आज विश्वभर विश्व सिमसार दिवस मनाइँदैछ। सिमसार संरक्षण र पुनःस्थापनाको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले यो दिवस हरेक वर्ष फेब्रुअरी २ मा मनाइन्छ।
सन् १९७१ मा इरानको रामसार सहरमा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनले रामसार महासन्धि अङ्गीकार गरेको सम्झनामा यो दिवस मनाइन्छ। संयुक्त राष्ट्रसंघले सन् २०२१ मा हरेक वर्ष फेब्रुअरी २ लाई विश्व सिमसार दिवसका रूपमा औपचारिक मान्यता दिएको थियो।
सिमसार क्षेत्र जैविक विविधताको भण्डार हो। ताल, पोखरी, नदी, खोला, झरना, दलदल क्षेत्र, धानखेतलगायत सिमसार अन्तर्गत पर्दछन्। यी क्षेत्रले वनस्पति, चराचुरुङ्गी, जलचर, उभयचर, वन्यजन्तु तथा मानव समुदायका लागि महत्त्वपूर्ण बासस्थानको काम गर्छन्। विश्वका ४० प्रतिशत जीवजन्तु तथा वनस्पतिहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सिमसारमा निर्भर छन्।
नेपालमा हाल १० वटा सिमसार क्षेत्र रामसार सूचीमा समावेश छन्:
-कोशी टप्पु वन्यजन्तु आरक्ष
-राराताल
-माईपोखरी
-फोक्सुण्डो ताल
-बिसहजारी ताल
-घोडाघोडी ताल
-गोसाइँकुण्ड ताल
-गोक्यो ताल
-जगदीशपुर जलासय
-पोखरा उपत्यकाका तालहरू
यी क्षेत्रहरूले करिब ६०,५६१ हेक्टर भूभाग ओगटेका छन्।
नेपालमा जलवायु परिवर्तन, मानवीय अतिक्रमण, अतिकेन्द्रित विकास, कृषि प्रणालीमा आएको परिवर्तन तथा प्रदूषणका कारण सिमसार क्षेत्र सुक्दै गएका छन्।
मुख्य चुनौतीहरू:
-अतिक्रमण र अव्यवस्थित फोहर व्यवस्थापन
-जलस्रोतको अत्यधिक दोहन
-बाह्य मिचाहा प्रजातिको फैलावट
-अवैज्ञानिक पूर्वाधार निर्माण
-जलवायु परिवर्तनको प्रतिकूल प्रभाव
नेपाल सरकारले राष्ट्रिय सिमसार नीति २०६९, जलस्रोत संरक्षण ऐन २०४९, वातावरण संरक्षण ऐन २०७६, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा रामसार रणनीति (२०१८–२४) लागू गर्दै सिमसार संरक्षणमा ध्यान दिएको छ।
वन तथा वातावरण मन्त्रालयले प्रदेश सरकार र स्थानीय तहहरूसँग समन्वय गरी सिमसार संरक्षणका लागि नयाँ नीति तथा कार्यक्रमहरू अगाडि बढाइरहेको छ। वन मन्त्रालयका अनुसार सिमसार पुनःस्थापना, जलस्रोत व्यवस्थापन, ‘वाटर हार्भेस्टिङ’ प्रविधिको उपयोग तथा सचेतना अभियानलाई अझ प्रभावकारी बनाइनेछ। सिमसार क्षेत्रको दीर्घकालीन संरक्षणका लागि तीनै तहका सरकार, गैरसरकारी संस्था तथा समुदायको संयुक्त प्रयास आवश्यक रहेको सरोकारवालाहरू बताउँछन्।