विनय–ग्रन्थ लोकार्पित

विनय–ग्रन्थ लोकार्पित

काठमाडौं । कवि विनय रावलका कृतिहरू समेटिएको कृति विनय–ग्रन्थ सार्वजनिक भएको छ । २०८१ कार्तिक २४ गतेका दिन, भूगोल साहित्य समाजद्वारा दरबारमार्गस्थित समाजको सभाकक्षमा एक विशेष कार्यक्रमको आयोजना गरी सो कृति सार्वजनिक गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल हुनुहुन्थ्यो भने विशिष्ट आतिथि डा. तुलसी भट्टराई रहनु भएको सो कार्यक्रममा विशेष अतिथिका रूपमा विनय रावलकी धर्मपत्नी सुलोचना रावल रहनुभएको थियो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै वरिष्ठ गजलकार पौडेलले विनय रावलको व्यक्तित्वका विभिन्न पाटा, स्वभाव र आनीबानीका साथै विभिन्न घटनाहरूको स्मरण गर्नुभयो भने डा. भट्टराईले विनयसँगको प्रथम भेटको सन्दर्भ र त्यसपछिको साथ, सङ्गत र सहकार्य बारे सुनाउनुभयो । विनय रावल प्रजातन्त्रको एक दरिलो खम्बा थिए भन्दै उहाँले लोकार्पित कृतिले विनयका विषयमा अध्ययन, अनुसन्धान गर्न चाहने जोकसैलाई सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो । यस्तै अर्का वक्ता ध्रुव मधिकर्मीले विनय रावलमा संगठन क्षमता भएका कारण समकालीन मित्रहरूको बारम्बार भेटघाट हुने गरेकोमा उनको आकस्मिक निधनसँगै त्यसखालको भेटघाट र सम्बन्ध प्रभावित भएको बताउनुभयो ।

विनय–ग्रन्थ डा. तुलसी भट्टराईको सम्पादन र संयोजनमा विनय रावल स्मृति प्रतिष्ठानद्वारा प्रकाशित भएको हो । ४०० पृष्ठको यस ग्रन्थ भित्र कवितासङ्ग्रहहरू मलाई तिमी आफूजस्तै बनाउ र सपनाको देशमा, लेखहरूको सँगालो समय–प्रवाह तथा नियात्रा टुल्दिदीको देश समेत रावलका चार कृतिका साथै ‘विभिन्न व्यक्तिका दृष्टिमा विनय रावल’ समेतका सामग्री समावेश छन् ।

कार्यक्रममा जयबहादुर चन्दले विनय रावल स्मृति प्रतिष्ठानको विगत, वर्तमान र भविष्यका बारेमा जानकारी गराउनुभएको थियो भने उद्धव खनालले राष्ट्रिय वाणिज्य बैँकको कर्मचारीका रूपमा विनय रावलसँगको सहकार्यका अनुभवहरूको स्मरण गर्नुभएको थियो ।

कार्यक्रममा विनय रावलका दाजु विमल रावल र भाइ वरुण रावलले विनय–ग्रन्थ प्रकाशनका लागि विनय रावल स्मृति प्रतिष्ठान तथा भव्य लोकार्पण कार्यक्रमको आयोजनाका लागि भूगोल साहित्य समाजप्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा रावलका पुत्र सुतेज रावलको पनि उपस्थिति थियो ।

समाजका अध्यक्ष विनोद नेपालको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष दिनेश विक्रम थापाले आगन्तुकहरूलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रम राजेश खनालले सञ्चालन गर्नुभएको थियो ।

२०१३ साल कार्तिक २२ गते जन्मिएका विनय रावलको पूर्वोत्तर भारतको साहित्यिक यात्राका क्रममा २०६२ साल जेठ २५ गते सवारी दुर्घटनामा निधन भएको थियो । कार्यक्रम रावलको ६८औँ जन्मजयन्तीको अवसरमा आयोजना गरिएको हो ।