कल्पतरु प्रज्ञा प्रतिष्ठानले मनायो: महाकवि देवकोटाको जन्म जयन्ती

कल्पतरु प्रज्ञा प्रतिष्ठानले मनायो: महाकवि देवकोटाको जन्म जयन्ती

-मुकुन्द अर्याल-

काठमाडौं । जनस्तरमा केही दिन अघिमात्र स्थापित कल्पतरु प्रज्ञा प्रतिष्ठानले महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११६ औ जन्मजयन्ती प्रभातफेरि, देवकोटाको सालिकमा माल्यार्पण, श्रष्टा सम्मान, मुनामदन पाठ,कविता वाचन लगायतका कार्यक्रम आयोजना गरि भव्यतापूर्वक मनाएको छ ।

यस अवसरमा साहित्यकार वसन्त रिजालाई महाकवि देवकोटा कल्पतरु पुरस्कार तथा हाँस्य कलाकार जोगेन्द्र पासवानलाई कल्पतरु प्रज्ञा सम्मन प्रदान गरियो । सोही अवसरमा पुरष्कृत साहित्यकार वसन्त रिजालले देवकोटा कल्पतरु पुरष्कार अक्षयकोषमा नगद १ लाख प्रदानको घोषण गरे ।

नवगठित कल्पतरु प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नवराज पुडासैनीको सभापतित्वमा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष नवराज लामाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्र राज शर्मा ,अतिथिहरु डा विदुला घिमिरे, देविका तिमिल्सिना ,वसन्त रिजाल ,गोविन्द घिमिरे ,विजय चालिसे लगायतका वक्ताहरुले विश्व स्तरमै शीर्ष स्थानमा रहेका महाकवि देवकोटा नेपाली साहित्यले पाउनु नेपालीको परम शौभाग्य भएको भन्दै देवकोटा वाहिर चर्चामा आएजस्तै गरीब नरहेको र पछिल्ला दिनमा श्रीकृष्ण भक्तिमा आकर्षित भएको खुलासा गरे । कार्यक्रममा कल्पतरु प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष विनोद अर्याल सचिव राजन पुडासैनीले र कोषाध्यक्ष उमेश तिमिल्सिनाले स्वागतका साथै प्रतिष्ठानका गतिविधिबारे बोलेका थिए । उक्त कार्यक्रममा सेन्टेनिअल मा.वि.का विद्यार्थी रमिसा के.सी., प्रेरणा वस्ताकोटी र अनिश चौलागाईले देवकोटाको कृति मुना मदनका केही अंशहरु पाठ गरे भने स्यांगजाका मुकुन्द अर्यालले देवकोटा उहिले र अहिले शीर्षकमा प्रस्तुती दिए ।

स्मरण रहोस् कल्पतरु साहित्यिक पत्रिका नवगठित कल्पतरु प्रज्ञा प्रतिष्ठानको जननी हो । राष्ट्रिय वाणिज्य बैकमा कार्यरत साहित्पिक मनहरुको सक्रियतामा वि.सं. २०५८ सालमा आरम्भ गरिएको कल्पतरु पत्रिकाको संस्थापक सम्पादक काठमाडौका नवराज पुडासैनी र स्यांगजाका मुकुन्द अर्याल हुनुहुन्थ्यो भने सल्लाहकार सम्पादकमा विराटनगरका गोकुल चन्द्र अधिकारी हुनुहुन्थ्यो । हाल २३ औ वर्षमा १०९ अंकको यात्रा तय गरेको यस पत्रिका केही अघि उत्कृष्ठ साहित्यिक पत्रिकाको रुपमा राष्ट्रपतिबाट सम्मानित समेत भएको थियो ।