काठमाडौं । नेपालमा हालै आएको बाढी र पहिरोबाट प्रभावित परिवारका लागि भारत सरकारले आपतकालीन राहत सामग्री सहयोग गरेको छ । भारत सरकारका तर्फबाट द्वितीय सचिव नारायण सिंहले बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई उक्त राहत सामग्री हस्तान्तरण गरेका हुन् ।
टारपोलिन, स्लीपिङ्ग ब्याग, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतल सहितको ४.२ टनको उक्त मानविय सहायताको खेप भारतबाट नेपालगन्ज ल्याई पुर्याइएको काठमाडौंस्थित भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘भारत सरकार अन्य अत्यावश्यक सरसफाई सामाग्री तथा औषधीका साथसाथै अन्य राहत सामाग्रीको पनि व्यवस्था गरिरहेको छ जुन छिट्टै उपलब्ध गराइनेछ ।’
नेपालमा कुनै पनि प्रकारको प्राकृतिक प्रकोपको समयमा छिमेकी भारतले आपतकालीन र दीर्घकालीन सहयोग गर्दै आएको छ । २०७२ सालको भूकम्पपछि नेपाललाई सहयोग गर्न भारत सरकारले सबैभन्दा सुरुमा तत्परता देखाएको थियो र बाह्य मुलुकमा अपरेशन मैत्री नामक सबैभन्दा ठूलो विपद् राहत अभियान सञ्चालन गरेको थियो । भारतले २०८० साल कार्तिकमा जाजरकोटमा भूकम्प गएपछि पनि राहत सामाग्री उपलब्ध गराई सहयोग गरेको थियो ।