

मुकुन्द अर्याल/वृन्दावन । द्वापर युगमा यस धराधाममा धर्म स्थापनार्थ मानवको रुपमा अवतरित हुनु भएका भगवान श्री कृष्णले अवतार लिएको पावन दिन श्री कृष्णजन्माष्टमी पर्व विश्वभरका श्री कृष्ण धामहरुमा दिव्योल्लासमय ढंगले मनाईयो ।
यसै क्रममा परव्रम्ह श्री कृष्णको प्राकट्य स्थान भारतको मथुरा ,लालन पालन स्थल गोकूल ,राधाकृष्णको लीलास्थली वृन्दावन र श्री राधारानीको माईती वरसानाधाम श्रध्दालुहरुको विशेषः आकर्षण रह्यो । यसै क्रममा वृन्दावन स्थित बाँकेविहारी मन्दिर र वृन्दावनकै जगद्गुरु कृपालुजी महाराज मार्गमा कृपालुजी महाराजकै दिव्य अग्रसरतामा निर्मित प्रेम मन्दिरमा विगत केही दिन यता लाखौं श्रध्दालुहरुले दर्शनलाभ लिए ।

यता नेपालमा पनि श्री राधा माधव समिति नेपाल ,अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ नेपाल लगायतका आध्यात्मिक संस्थाहरुद्वारा भगवान श्री कृष्णको प्राकट्य दिवश विशेषः कार्यक्रमहरुको आयोजना गरि मनाईयो । यसै क्रममा श्री राधा माधव समिति नेपाल श्यामाश्याम धाम ठिमीद्वारा भक्तपुरमा नगर संकिर्तन आयोजना गरिएको थियो । गोविन्द बोलो हरि गोपाल बोलो राधा रमण हरि गोपाल बोलोको सुमधुर संकीर्तन कार्यक्रममा सयौंको संख्यामा राधे राधे साधकहरुको सहभागिता रहेको थियो ।