

सुदूरपश्चिम । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्षको बजेटका कारण सत्तासाझेदार दलबीच समस्या नहुने बताएकी छन्। प्रेस सेन्टरले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारकी प्रवक्तासमेत रहेकी मन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटप्रति व्यक्त गुनासा एवं त्यसमा भएका त्रुटिलाई सम्भव भएसम्म सुधार गरेर जाने प्रयत्न भइरहेको बताइन्।
मन्त्री शर्माले बजेट सन्तुलित रहेको चर्चा गर्दै भनिन्, “जनतातिर फर्केको, समाजवादोन्मुख र उत्पादनलाई ध्यान दिएको बजेट छ।” उनले बजेटमा कतिपय कुरा सच्चाएर जान सकिने भए पनि सुधार गरेर लैजान पाइँदैन भन्ने परम्परागत संसदीय व्यवस्थाको अभ्यासलाई बेठिक रहेको बताइन्।
उनले अहिलेको गठबन्धन सरकारको विकल्पबारे सोचिएको स्पष्ट पार्दै विभिन्न दलले गठबन्धन गरेर सरकार चलाइरहेकाले एउटै पार्टीले सरकार चलाएजस्तो नहुने बताइन्। मन्त्री शर्माले सत्तापक्षीय दलबीच लामो समयसम्म सहकार्य गरेर जाने नेकपा माओवादी केन्द्रको सोच रहेको पनि उल्लेख गरिन्।
मनसुन प्रारम्भ भएसँगै बाढी, पहिरो, डुबानजस्ता विपद्का बारेमा सरकारको तयारीबारे जिज्ञासामा उनले भनिन्, “सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र गृह मन्त्रालयलगायतको समन्वय बैठकबाट रेडियो नेपाल, निजी सामुदायिक रेडियो, नेपाल टेलिकमबाट एसएमएसका माध्यमबाट बाढी, पहिरो, डुबानजस्ता विपद्का बारेमा पूर्वसूचना दिने भनेर एक सम्झौता गरिएको छ, सरकार विपद् व्यवस्थापनका निम्ति तम्तयार छ एवं संवेदनशील छ।”
मन्त्री शर्माले सूचना प्रविधि दशक मनाउने सरकारको योजनाले निजी क्षेत्र उत्साहित बनेको उल्लेख गर्दै सूचना प्रविधि क्षेत्रको विकास गरी व्यवस्थित गर्न सकिएमा देशमा अर्बौँ भित्र्याउन सकिने बताइन्।
उनले भनिन्, “१६औँ योजना र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम, र बजेट वक्तव्यमा पनि सूचना प्रविधिको विषय समेटिएको छ, यसको विकास गरी नेपाललाई ‘आइटी हब’ मा रूपान्तरण गर्ने गरी काम गरिरहेका छौँ।” मन्त्री शर्माले आमसञ्चारसम्बन्धी पुराना नियमलाई समयानुकूल बनाइने बताइन्।