बजेटमा विश्वसनीयता भएन- कांग्रेस महामन्त्री थापा

बजेटमा विश्वसनीयता भएन- कांग्रेस महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बजेटको विश्वसनीयता नभएको भन्दै अर्थमन्त्री बर्षमान पुनलाई प्रश्न गरेका छन् । प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिदै महामन्त्री थापाले बजेटमा विश्वसनीयता नभएको भन्दै अर्थमन्त्रीसँग प्रश्न गरेका छन् । उनले जे लेखेपनि सत्ता पक्षले ताली बजाउने भएकाले बजेट हावादारी हुदै गएको टिप्पणी गर्दै हाम्रो संरचना नै खराब भएको टिप्पणी गरेका छन् ।

उनले बजेटमा लिइएको लक्ष्य पुरा हुन नसक्ने बताउदै प्रशासनिक सुधार गरेको आधारमा राजश्व कसरी बढ्छ भन्दै प्रश्न गरेका छन् । उनले बैदेशिक सहायता ५२ अर्ब आउछ भनेर बजेटमा उल्लेख गरिएको तर गत बर्ष ५० अर्ब आउछ भनिएकोमा ३ अर्ब आएको उल्लेख गर्दै उनले ५२ अर्ब कसरी ल्याउनुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

उनले भने-

‘यो बजेटबारे बोल्ने कसरी भनेर म अल्मलिएको छु । यो बजेटमा यो पनि छैन, त्यो पनि छैन, यो पनि मिल्दैन, त्यो पनि मिल्दैन भनेर बोल्नुपर्ने हो । तर त्यसरी बोलौँ, यति धेरै उथलपुथल भएको यो संसदमा ६/८ महिनापछि यो बजेट आफैले काँध हाल्नुपर्ने पो हो कि ! अर्थमन्त्रीज्यूले यो वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि हुन्छ भन्ने कुराको प्रक्षेपणको दाबी गर्नुभएको छ। अघिल्लो वर्ष पनि ठिक त्यस्तै दाबी थियो । ४ प्रतिशतको भन्दा कम रह्यो । यो वर्ष हाम्रा विकास साझेदार, चाहे एशियाली विकास बैंक होस्, चाहे आइएमएफ होस् कसैल ४ भनिरहेको ठाउँमा ६ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ भनेर जुन दाबी गर्नुभएको छ, यसको आधार के हो ?’