आज सोमबारे औँसी, कसैसँग नबोली नुहाउनु भयो त ?

आज सोमबारे औँसी, कसैसँग नबोली नुहाउनु भयो त ?

काठमाडौँ । आज सोमबारसँगै औँसी पनि परेको छ। औँसी र सोमबार एकै दिन परेको दिनलाई हिन्दु धर्म अनुसार सोमबारे औँसीका रूपमा मनाउने गरिन्छ। आजका दिन बिहान सबेरै उठेर नबोली नुहाउनु पर्ने चलन पनि छ। त्यसैले आजका दिनलाई मौन औँसी पनि भनिन्छ।

वैदिक परम्परामा औँसीलाई पितृको पर्व मानिन्छ। यो दिन तर्पण, श्राद्ध गर्ने वा पितृका नाममा दान गर्ने चलन छ। पुराणमा भनिए अनुसार आज भगवान् शिव वा विष्णुको आराधना गर्ने, दान गर्नेलगायत कर्म गर्नुपर्ने उल्लेख छ। आजको दिन तुलसी वा पिपलको पूजा गर्ने र प्रदक्षिणा गर्ने विधान छ। सोमबार औँसी तिथि आज मध्यराति १२ बजेर २७ मिनेटसम्म रहने र त्यसपछि चैत्रशुक्ल प्रतिपदा आरम्भ हुने नेपाल पञ्चांगमा निर्णायक समितिले जनाएको छ।