

काठमाडौं । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार सम्पन्न ‘मिस एन्ड मिसेस ब्युटिफुल नेपाल’ प्रतियोगितामा रिता तामाङले ‘मिसेस नेपाल’को उपाधि जितेकी छन्।तामाङले मुख्य उपाधिसँगै मिसेस फोटोजेनिक, मिसेस ट्यालेन्ट र मिसेस बेस्ट वाकको उपाधिसमेत जितेकी छन्।
पेशाले ब्युटिसियन तामाङले काठमाडौंमा आफ्नै ब्युटी पार्लर सञ्चालन गर्दै आएकी छन्। सौन्दर्य क्षेत्रमा सक्रिय उनले व्यावसायिक अनुभव, आत्मविश्वास र प्रतिभाका आधारमा प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी हुन्।
उपाधि जितेपछि तामाङले आफू खुसी, गौरवान्वित र भावुक भएको बताउँदै नयाँ जिम्मेवारी र अझ राम्रो काम गर्ने प्रेरणा मिलेको प्रतिक्रिया दिइन्। प्रतियोगितामा मन्दिरा आचार्य फस्ट रनरअप, गीता बुढाथोकी सेकेन्ड रनरअप, सिर्जना घिमिरे थर्ड रनरअप र रिता कटुवाल फोर्थ रनरअप भए। भ्युयर च्वाइस अवार्ड सिर्जना घिमिरेले जितिन्।
त्यस्तै, ‘मिस नेपाल’तर्फ समीक्षा शर्मा विजेता बनिन्। ताराकुमारी दुलाल फस्ट रनरअप, निशा राजबहक सेकेन्ड रनरअप र सञ्जिना चौधरी थर्ड रनरअप घोषित भए।
राष्ट्रिय सभा उपाध्यक्ष लिलाकुमारी भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा अभिनेता शिव श्रेष्ठ, अभिनेत्री तृप्ती नाडकर तथा गायक आनन्द कार्कीको उपस्थिति थियो। प्रतियोगिता दक्ष इन्टरनेशनल प्रालिले आयोजना गरेको हो। प्रतियोगिताका आधिकारिक मेकअप आर्टिस्ट चन्दा पुन र कोरियोग्राफर अश्विन झा रहेका थिए।