

ञ्चनपुर । विश्वकै दुर्लभ तथा सङ्कटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखापरेको छ । निकुञ्जको बाह्य क्षेत्रमा बगाले बगेडी चरा पहिलो पटक देखापरेको हो ।
शुक्लाफाँटा नगरपालिका-२ ढकनियास्थित स्थानीय किसानको खेतमा बगाले बगेडी चरा फेला परेको संरक्षणकर्मी सुवन चौधरीले बताए । भँगेरा जस्तै तर रङ्गीन ३२ वटा बगाले बगेडी चरा आफूले देखेको उनले बताए ।
धेरै वर्षपछि विश्वमै दुर्लभ मानिएको चरा देखापरेपछि नियमित निरीक्षण गर्दै आएको संरक्षणकर्मी चौधरीले बताए । ‘फरक प्रजातिको चरा देखेपछि तस्वीर खिचेर नेपाल पक्षी संरक्षण सङ्घलाई पठाएँ’, उनले भने, ‘यो दुर्लभ प्रजातिको चरा भएको जानकारी प्राप्त भएको छ ।’
नेपाल पक्षी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यस चरालाई पहिलोपटक सन् १९८० मा अभिलेखीकरण गरिएको थियो । त्यसपछि यस चराको तथ्याङ्क राखिएको नपाइएको उनले बताए । अभिलेखीकरण गरिएको ४४ वर्षपछि बगाले बगेडी चरा देखापरेको उनले बताए ।