बाँदर नियन्त्रण गर्न रूख काट्ने वडाध्यक्षको निर्णयमा पोखरा महानगरको रोक

बाँदर नियन्त्रण गर्न रूख काट्ने वडाध्यक्षको निर्णयमा पोखरा महानगरको रोक

पोखरा।बाँदर नियन्त्रणका नाममा रूख काट्न पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेको निर्णयमा महानगरले रोक लगाएको छ।

पोखरा महानगरका कानुन महाशाखा प्रमुख नारायण शर्माले मंगलबार वडाध्यक्ष पाण्डेलाई पत्राचार गर्दै रूख काट्ने निर्णय अबिलम्व बन्द गरी रूख काट्ने कार्य बन्द गर्न भनेका हुन्।कानुन महाशाखा प्रमुख शर्माले पत्राचार गरेलगत्तै वडाध्यक्ष पाण्डेले रूख काट्ने निर्णय महानगरको निर्देशन अनुसार रोक्न आग्रह गरेका छन्।

उनले सोमबार सूचना प्रकाशित गर्दै बाँदर नियन्त्रणका लागि रूख बिरूवा काट्न वडाबासीलाई आग्रह गरेका थिए।पोखरा महानगरका मेयर धनराज आचार्यले पनि बाँदर नियन्त्रणका नाममा रूख काट्ने निर्णय नभएको बताएका छन्।वडाध्यक्ष पाण्डेले रूख काट्ने निर्णय गरेपछि संरक्षणकर्मीहरूले विरोध जनाएका थिए। रूख काट्दैमा बाँदर नियन्त्रण नहुने भएकाले उक्त निर्णय तत्काल फिर्ता लिन संरक्षणकर्मीहरूले आग्रह गरेका थिए।

वडाध्यक्ष पाण्डेले गण्डकी सरकारको नीति तथा कार्यक्रम अनुसार भन्दै बाँदर नियन्त्रण गर्न रूख काट्ने आग्रह गरेका थिए।