

काठमाडौं । नेपालका बैंक तथा वित्तिय संस्थाको नियामक निकायले आफ्नो कोषमा भएको रकम ब्याजमा लगाउने भएको छ । नेपाल राष्ट्र बैंकले २ अर्ब ८६ करोड रुपैयाँ बढी रकम ब्याजमा लगानी गर्ने भएको हो ।
केन्द्रीय बैंकको विभिन्न कोषहरुमा रहेको कूल २ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न लागेको हो । राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै केन्द्रीय बैंक तथा वित्तीय संस्थालाई चाहेको निक्षेपका लागि दरखास्त हाल्न आह्वान गरेको छ ।
कूल रकममध्ये २ अर्ब २९ करोड २२ लाख रुपैयाँ वाणिज्य बैंकका लागि छुट्याइएको छ भने ४२ करोड ९८ लाख रुपैयाँ विकास बैंक र १४ करोड ३३ लाख रुपैयाँ राष्ट्रिय स्तरका वित्त कम्पनीहरुका लागि छुट्याइएको छ ।
निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाले मंसिर १२ गते अर्थात् मंगलबार राती १२ बजेभित्र आवेदन दिइसक्नुपर्नेछ । निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकले तोकेको न्यूनतम पुँजीकोष कायम गरेको हुनुपर्नेछ भने कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम गरेको र निष्कृय कर्जा (एनपीएल) कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम रहेको हुनुपर्ने केन्द्रीय बैंकले जनाएको छ । निक्षेप भने आउँदो पुस १ गते प्रदान गरिनेछ, एक वर्षका लागि प्रदान गरिने निक्षेपको समयावधि वि.सं. २०८१ मंसिर ३० गते सम्म हुनेछ ।