प्रदर्शनलाई लक्षित गरी काठमाडौंमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा

प्रदर्शनलाई लक्षित गरी काठमाडौंमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा

काठमाडौँ । काठमाडौँमा आज हुन लागेका दुईवटा छुट्टाछुट्टै समूहको विरोध प्रदर्शनलाई लक्षित गरेर बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज छुट्टाछुट्टै कार्यक्रम गर्न लागेका हुन् ।

बल्खुमा प्रसाईं नेतृत्वको महाअभियानले प्रदर्शन गर्नेछ भने नेकपा एमाले निकट युवा संघले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको छ । प्रदर्शनको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना बनाएर लागु गरेको छ ।प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना तयार गरिएको उपत्यका प्रहरी कार्यालयका एक अधिकृतले बताए ।

प्रदर्शन स्थल र जुलुस आउने बाटोमा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् ।