तिहारमै बिक्री भएन फूल, किसान निराश

तिहारमै बिक्री भएन फूल, किसान निराश

बेदकोट । फूल बिक्री नहुँदा व्यावसायिकरूपमा फूलखेती गरिहेका किसान निराश बनेका छन् । पछिल्लो समय प्लाष्टिक फूलमालाको प्रयोग बढेकाले स्थानीयस्तरमा उत्पादित फूलले बजार पाउन नसकेको कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका पुष्प व्यवसायी जनकबहादुर सिंहले बताउनुभयो ।

“फूल राम्रै फुलेका छन्, तर बजार नै पाइएको छैन”, उहाँले भन्नुभयो, “अहिलेसम्म फूल बिक्री नै भएको छैन, बिक्रीका लागि तयार भएका फूल कुहिँदैछन् ।” बजारमा प्लाष्टिक फूलमालाको उपलब्धताले स्थानीयस्तरमा उत्पादित फूल बिक्री हुन नसकेको उहाँको भनाइ छ । “प्लाष्टिक फूलमालाको प्रयोग बढ्दो छ, अहिले प्रशासनले प्लाष्टिकजन्य फूलमालामा रोक लगाएको छ”, उहाँले भन्नुभयो, “अब फूलले बजार पाउने आशा छ ।”

कृषि ज्ञान केन्द्र कञ्चनपुरमा प्रावधिक पदमा कार्यरत सिंह विगत तीन वर्षयता व्यावसायिक फूलखेती गर्दै आउनुभएको छ । उहाँले भीमदत्त नगरपालिका–३ भाँसीस्थित जानकी कन्या माध्यमिक विद्यालयको जमिन भाडामा लिएर फूलखेती गर्नुभएको छ । “फूलको बीउ आफैँले छरेको थिएँ, सात कठ्ठा जमिनमा फूलखेती छ”, उहाँले भन्नुभयो, “फूल फुलेको दुई साताभित्र टिपेर बेचिसक्नुपर्छ, नभए फूलको बाहिरी पत्र कुहिएर फूल ढल्छ ।”

उहाँका अनुसार यस वर्ष अहिलेसम्म फूल बिक्री हुनसकेको छैन । भाडामा लिइएको सात कठ्ठा जमिनमा सयपत्री फूलखेती गरिएको छ । उहाँले यसअघि भीमदत्त नगरपालिका–१० तिलकेनीमा पुष्प व्यवसाय गर्नुभएको थियो । फूल बिक्री गर्नै हम्मेहम्मे परेको किसानको भनाइ छ । जसोतसो फूलमाला बिक्री भए पनि उचित मूल्य नपाउने गरेको किसानको गुनासो छ ।