विपिन जोशी सुरक्षित घर फर्किउन् : महासचिव गुटेरेस

विपिन जोशी सुरक्षित घर फर्किउन् : महासचिव गुटेरेस

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायलमा सम्पर्कविहीन भएका नेपाली नागरिक बिपिन जोशी सकुशल फिर्ताको कामना गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आइतबार भएको भेटपछि आयोजित पत्रकार सम्मेलनमा गुटेरेसले हमासको आक्रमणमा मृत्यु भएका नेपालीहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे ।आफू कतारबाट सिधै नेपाल आएको भन्दै उनले भने, ‘गाजामा रहेका सबै बन्धकको तत्काल रिहाईका लागि जोड दिन्छु ।’

गाजाको अवस्था अधिक निराशाजनक रहेको भन्दै उनले सबै पक्षले अन्तर्राष्ट्रिय मानवीय कानुनको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् ।महासचिव गुटेरेसले हमासले गरेको आक्रमणको भत्सर्ना गरेका छन् । उनले निहत्था नागरिकहरुमाथिको आक्रमण कुनै पनि अवस्थामा न्ययोचित नहुने उल्लेख गरेका छन् । ‘अहिलेका समयहरु धेरै जटिल र तनावपूर्ण छन् ।

धेरै माइल टाढाको मध्यपूर्वमामा भएको द्वन्द्वले नेपालका जनताहरुलाई पनि नजिकबाट प्रभावित पारेको छ’ महासचिव गुटेरेसले भनेका छन्,’हमासले गरेको आंतकपूर्ण आक्रमणबाट १० जना नेपाली विद्यार्थीहरु मारिएको घटनाप्रति उनीहरुका परिवारजनमा मेरो गहिरो समवेदना छ र हराईरहेका विपिन जोशी सुरक्षित रुपमा फर्किन्छन् भन्ने कामना गर्दछु ।