काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह विश्वका उदीयमान एक सय नेताहरूको सूचीमा पर्न सफल भएका छन् । प्रतिष्ठित टाइम म्यागजिनले सन् २०२३ का विश्वका उदीयमान सय नेताको सूचीमा काठमाडौँ महानगरपालिकाका मेयर शाहलाई पनि समावेश गरेको छ ।
म्यागजिनले भविष्यमा आफ्नो क्षेत्रलाई आकार दिने र परिभाषित गर्न सक्ने विश्वभरका एक सय उदयमान नेतृत्वको सूची ‘टाइम हन्ड्रेड नेस्क्ट’ सार्वजनिक गरेको हो ।
सन् २०१५ को विनाशकारी भूकम्पको समयमा बालेनले जनताको साना तथा अत्यावश्यक समाधानमा जोड दिएको उल्लेख गर्दै म्यागजिनले फोहोर विसर्जन, सरसफाइ, सुरक्षित पिउने पानी, सफा सडक र सहरी विकाससँगै सांस्कृतिक सम्पदाको संरक्षणमा शाहले योगदान दिएको बताएको छ ।
३३ वर्षीय स्वतन्त्र उम्मेदवार शाहले सामाजिक सञ्जालको प्रयोग गरेर मतदाताको निराशालाई पक्रँदै ‘बालेन प्रभाव’ सिर्जना गरेको जिकिर गरेको छ ।