जलहरीमा १० केजी सुन नपुगे जस्तोसुकै सजाय भोग्न तयार छु : सदस्य सचिव थापा

जलहरीमा १० केजी सुन नपुगे जस्तोसुकै सजाय भोग्न तयार छु : सदस्य सचिव थापा

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले पशुपतिमा सुनको जलहरी लगाउदा सुन गायव गरेको भए आफु जस्तोसुकै कारवाही भोग्न पनि तयार रहेको बताउनुभएको छ ।

सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा थापाले आफुलाई बिना आधारमा सुन हिनामिना गरेको आरोप लगाएको भन्दै सुन चोरी गरेको प्रमाणित भए जस्तोसुकै कारवाही भोग्न पनि तयार रहेको बताउनुभएको हो ।

संसदीय समितिमा निकै भाबुक भएर प्रस्तुत भएका सदस्य सचिव थापाले यस बिषयमा न्याय माग्न आत्म–हत्या गर्नुपर्ने हो भन्दै प्रश्न गर्नुभयो । उहाले राष्ट्र बैंकसंगको सम्झौता अनुसार १०३ केजी सुन ल्याएको र तत्कालिन प्रधानमन्त्री केपी ओली र तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीको निर्देशनमा छिटो काम गरेको तर्क गर्नुभयो । पशुपतिमा सुनको जलहरी लगाउदा २४ घण्टा नेपाली सेना तैनाथी गरिएको उहाले बताउनुभयो । अदालतबाट सुनको जलहरी हाल्न हुदैन भनेर प्रदेश सांसद नरोतम बैद्यले स्टे अर्डर ल्याएको बेला ९६ किलो ८२२ ग्राम सुन तयार भएको र १० किलो सुन जलहरीका लागि तयारी नभएको हुँदा माइनुटमा मात्रै नलेखिएको र उक्त १० किलो पशुपतिनाथ मन्दिरमा नै रहेको उहाले दावी गर्नुभयो । उहाले १० किलो सुनका कारण आफ्नो बेइज्जत भएको भन्दै सुन जोख्दा नपुगे मृत्युदण्ड भोग्न पनि तयार रहेको बताउनुभयो ।

उहाले यथार्थ नबुझि आफुर्लाइ सुन चोर भनेर टिप्पणी गरेको गुनासो गर्नुभयो । उहाले यस प्रकरणमा आफु निकै पीडित भएको बताउनुभयो । समितिले राष्ट्रिय गौरवको आयोजना पशुपति क्षेत्र विकास कोषको सम्पत्ती र यसको उपयोग सम्बन्धमा कोषका पदाधिकारीसंग छलफल गरेको थियो ।