श्री राधा माधव समिति नेपालद्वारा वनकालीमा निर्मित उद्यान २०८० वैशाख १ बाट खुला

श्री राधा माधव समिति नेपालद्वारा वनकालीमा निर्मित उद्यान २०८० वैशाख १ बाट खुला

-मुकुन्द अर्याल-

काठमाडौँ । श्री राधा माधव समिति नेपालद्वारा निर्मित वनकाली उद्यान आगामी २०८० वैशाख १ गतेबाट सर्वसाधारणलाई खुला गरिदैछ । हाललाई हरेक सोमबार र विहीबार बिहान ६ बजेदेखि ११ बजेसम्म १ चरण र शनिवार बिहान ६ बजेदेखि ११ बजेसम्म र दिउंसो १ बजेदेखि ६ बजेसम्म २ चरण खुला गरिने छ । यस उद्यानको रेखदेख सम्हार निम्ति सशुल्क खोलिने उक्त उद्यानमा प्रवेशनिम्ति नेपालीलाई रु ५०। र विदेशीलाई रु १०० प्रवेश शुल्क तोकिएको छ । यस उद्यानका हरेक संरचनाहरुको संक्षिप्त जानकारी सहित गराईने अवलोकन कार्यक्रममा आगन्तुकहरुलाई समिति सम्वध्द स्वयमसेवकहरुबाट पथप्रदर्शनको सेवा (गाईडेड् टुर ) उपलव्ध गराउने व्यवस्था मिलाईएको छ ।

स्मरण रहोस् , श्री कृपालु महाप्रभुको स्मृतिमा स्वामी श्री हरिदासजीको परिकल्पनामा श्री राधा माधव समिति नेपाल अन्तर्गतको विद्वत समाज नेपालको अगुवाईमा पशुपति क्षेत्र विकास कोषसंग मिति २०७१ असार १३ मा सम्झौता भई निर्माण आरम्भ गरिएको यो उद्यान सम्भवतः विश्वकै पहिलो आध्यात्मिक सारमा ( क्उष्चष्तगब ित्जझभ ) निर्मित उद्यान हो । श्री राधा माधव समिति नेपालसंग आवध्द हजारौ साधक तथा श्रध्दालु जनको सहयोग तथा श्रमदानमा करिव ७ वर्षको अवधिमा तयार भएको यस उद्यानभित्र रहेका संरचनाहरुले हाम्रो पूर्विय दर्शनले दिशानिर्देश गरेका ज्ञान ,कर्म र भक्ति मार्ग र समग्र सनातन संस्कृतिलाई वोधगम्य रुपमा अभिव्यक्ति दिईरहेका छन् । यसभित्र रहेका आशुतोष प्राङ्गण ,शिवानी कुन्ज ,भक्तिस्तम्भ, महापुरुष चौतारी ,शास्त्रार्थ वैठक,भक्ति सोपान, नटेश्वर डवली जस्ता संरचनाहरुले विश्व सम्पदा सूचिमा रहेको पाशुपत क्षेत्रमा तीर्थाटन गर्न आउने लाखौ श्रध्दालुहरुलाई सदियौंसम्म दिव्यानन्द र आल्हाद प्रदान गर्ने कुरामा सन्देह छैन ।

प्रकृति र प्राणीबीचको अन्योन्याश्रित सम्वन्ध ,विश्वव्यापी चासोको रुपमा रहेको जैविक विविधताको संरक्षण ,वातावरणीय सन्तुलनसमेतलाई दृष्टिगत गर्दै पर्यावरणीय प्रणालीलाई सहयोगी बोटवृक्षहरु रोपण,यस क्षेत्रमा आउने जनावर ,चराचुरुंगीलाई आवश्यक जलकुण्ड तथा पुनर्भरण (रिफिलिंग) पोखरी आदी समेत व्यवस्था गरिएको यो उद्यानमा प्रकृति अध्यात्म र कुन्जको अनुपम संयोजन रहेको छ । राधे राधे साधकहरुद्वारा कृपालु उद्यानको रुपमा पुकारिने यस वनकाली उद्यानको निर्माणबाट यस क्षेत्रमा आउने पर्यटकहरुलाई भगवान श्री पशुपतिनाथको दर्शन पछि विश्राम गर्ने मनोरम स्थान मिल्ने र विश्व सम्पदा सूचिमा रहेको पाशुपत क्षेत्रको गरिमा र महत्ता अरु बढ्ने विश्वास गरिएको छ ।