सन्दीपको मुद्दामा डाक्टर र आलमको बकपत्र लिन आदेश

सन्दीपको मुद्दामा डाक्टर र आलमको बकपत्र लिन आदेश

काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेको मुद्दामा आज अदालतले थप दुई व्यक्तिका बकपत्र लिन आदेश दिएको छ । सन्दीपका साथी क्रिकेट खेलाडी साहब आलम र जाहेरीकर्ताको मेडिकल जाँच गर्ने डाक्टरको बकपत्र लिन आदेश भएको अदालत स्रोतले जानकारी दियाे ।

आजको सुनवाइ सुरू हुनासाथ वादीतर्फका वकिलहरूले मेडिकल टिमका मुख्य डाक्टरको बकपत्र चाहिने माग गरेका थिए । यसअघि मुख्य डाक्टरको ठाउँमा सहयोगी डाक्टरको बकपत्र राखिएकोमा त्यसलाई अस्वीकार गर्दै वकिलहरूले सो माग गरेका हुन् । न्यायाधीश शंकरराज बरालले सरकारी वकिलहरूको मागअनुसार मुख्य डाक्टरकै बकपत्र राख्न आदेश गरेका छन् ।

एक नाबालिकलाई जबरजस्ती करणी गरेको आरोपमा उनीविरुद्ध मुद्दा चलेको हो । यसअघि काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेशलाई पाटन उच्च अदालतले सर्तसहित २० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो ।

उक्त आदेशपछि सन्दीप थुनामुक्त भएका छन् । उनी थुना बाहिर रहेर कानुनी संघर्ष गरिरहेका छन् ।