

माेरङ । विराटनगरमा निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री कार्यालय नजिकै प्रदर्शन गर्ने चार जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेशको नाम पुन: नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेपछि उनीहरुलाई पक्राउ गरेको हो ।प्रदेशसभाबाट काेशी प्रदेश नामकरण गरेकाे विराेधमा आदिवासी जनजाति समुदायले गरेको प्रदर्शन अनियन्त्रित बन्दै गएपछि सशस्त्र प्रहरीले केही राउन्ड हवाई फायर गरेको छ । साथै सुरक्षाकर्मीहरूले दर्जनौं सेल अश्रुग्याससमेत प्रहार गरेका छन् ।
प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति गठन गरी आदिवासी जनजाति समुदायले प्रदर्शन गर्दै आएका छन् । आइतबार मुख्यमन्त्रीको कार्यालय अगाडि प्रदर्शनको क्रममा प्रहरीसँग झडप भएको हो ।
प्रदर्शनकारीहरूले निषेधित क्षेत्र ताेडेर सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्न थालेपछि सुरक्षाकर्मीले अश्रुग्यासका साथै हवाई फायर गरेका हुन् । आइतबार दिउँसोसम्म प्रदर्शनकारी र प्रहरीबीच ढुंगामुढा चल्दा विराटनगर तनावग्रस्त बनेको छ ।
आक्रोशित प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालयअगाडि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुतला दहन गरेका छन् ।