

-मुकुन्द अर्याल
काठमाडौं।श्री राधा माधव समिति नेपाल सम्वध्द डिभाईन युथ क्लब नेपाल (डिवाईसि नेपाल)द्वारा आगामी फागुन ३ देखि ५ गतेसम्म काठमाडौमा त्रिदिवशीय युवा ध्यान शिविर आयोजना गरिदैछ ।
देशभर छरिएर रहेका युवाहरुलाई आध्यात्मिक भावनामार्फत् प्रशिक्षित गराई नैतिक रूपमा सक्षम, सवल एवं चरित्रवान् नागरिक तयार पार्ने पावन उध्देश्यले संचालन गरिने उक्त कार्यक्रमका प्रमुख आकर्षण निम्नानुसार रहेका छन् ।
-अनन्त सौन्दर्य माधुर्य सुधासिन्धु चित्तचोर रसिक सिरमोर ब्रजेन्द्रनन्दन श्रीकृष्ण एवं उनकी ल्हादिनी शक्ति नित्य निकुञ्जेश्वरी श्रीराधारानीको रुपध्यान युक्त साधना,
-ब्रह्म मुहुर्तमा योग एवं साधना सहयोगी आशन अभ्यास,
– भगवान श्रीकृष्ण एवं श्रीराधारानीमा आधारित आध्यात्मिक लीला झाँकी एवं सांस्कृतिक नृत्य
-विज्ञबाट युवा लक्षित आयुर्वेद पद्धतिमा आधारित जीवनशैली कार्यशाला
-भगवान् श्रीकृष्ण प्रार्थना, आरती, भक्ति मन्दिर परिक्रमा एवं दर्शन
-बिभिन्न जीवनोपयोगी बिषयमा प्यानल छलफल
-मनोरम प्राकृतिक ठाँउमा सत्संग, भगवन्नाम संकीर्तन सहित पदयात्रा
-संकीर्तन सहयोगी सांगीतिक कार्यशाला
-सेलिब्रेटी अतिथिको उपस्थिति
२०७९ फागुन ३ ,४ र ५ गते श्यामा श्याम धाम ठिमीमा संचालन हुने उक्त शिविरमा भाग लिन इच्छुक १६ वर्षदेखि ४० वर्षसम्मका युवाहरुले टेलिफोन नम्बर ०१६६३८२१९ ,मोवाईल नम्बर ९८४९२१५१८९, ९८६३९९७१५३ हरु बाट नाम दर्ता लगायत अन्य जानकारी प्राप्त गर्न सकिने छ ।
स्मरण रहोस् वि.सं. वि.स.ं २०६९ मा आदरणीय स्वामी श्रीहरिदासजीको करकमलबाट समुद्घाटित स्वामीजी एवं श्री राधा माधव समिति नेपालकी अध्यक्ष एवं रसमय संकीर्तनकी साधिका आदरणीय संगीता दिदीजीको संरक्षण र निर्देशनमा अगाडि बढेको डिभाईन युथ क्लब नेपाल ११ औ वर्षमा प्रवेश गरेको छ । यस क्लवमा नेपालको मेची महाकालीका २००० युवाहरु आवध्द छन् । स्थापना भएकै दिन आराध्यदेव श्री पशुपतिनाथ मन्दिरको सरसफाईबाट शुभारम्भ गरेको यस क्लवले देशभर रहेका धार्मिक आस्थाका मठ मन्दिरको सरसफाई, विभिन्न संघसंस्थामा आवद्ध वृद्धवृद्धाको देखभाल , असक्त बालबालिकालाई जीवनोपयोगी सामाग्रि वितरण, वातावरण संरक्षण , विभिन्न जनचेतनामूलक कार्यक्रम संचालन लगायतका विविध सामाजिक सेवाहरुमा प्रेरणादायी सक्रियता देखाउंदै आएको छ ।
११ औं वर्ष प्रवेशको पूर्व सन्ध्यामा डिवाईसि नेपाल,युवावर्गमा आध्यात्मिक चेत सहित चरित्र निर्माण ,सिर्जनशीलता र सामाजिक सेवा भाव विकसित गर्दै उनीहरुमा रहेको अपार क्षमता स्वयम् समाज ,राष्ट्र र विश्वकल्याणमा सदुपयोग गर्दै विश्वमा दिन प्रतिदिन बढ्दै गइरहेको विकृति एवं विसंगति हटाउने दिशामा आगामी दिनमा थप उत्शाह सहित सक्रिय रहने प्रण दोहराउंदछ ।