मोदी भ्रमणपछिको तरंग

मोदी भ्रमणपछिको तरंग

-विपुल पोख्रेल-

 

नेपालमा एउटा तरंग छाड्दै भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरप्रसाद मोदी फिर्ता भएको ३ दिन बितिसकेको छ । तर, नेपाली राजनीतिक बजार मात्रै हैन, बौद्धिक वर्गदेखि चिया चमेना पसलसम्म उनको भ्रमणका बारेमा चर्चा चलिरहेका छन् । ती सबै चर्चाको एउटै निष्कर्ष छ, ‘उनलाई आवश्यकताभन्दा बढी महत्व दिइयो ।’

योभन्दा पहिला पनि मोदी आएका थिए । त्यतिबेला पनि उनलाई महत्व दिइएको थियो । उनले त्यो बेला सार्वभौम संसद (संबिधानसभा)मा आफ्नो मन्तव्य समेत राखेका थिए । संसदमा बिदेशी पाहुनालाई मन्तव्य दिन लगाउनु भनेको उनलाई महत्व दिएको हो, सम्मान दिएको हो । तर, त्यतिबेला मोदी भ्रमणको कहीँ कतैबाट आलोचना भएन । बरु ‘मोदीले नेपाली जनताको दिल जिते’ भनेर प्रशंसा गरियो । उनीजस्तै नेताको खाँचो छ भन्ने निष्कर्षका साथ थुप्रै नेपालीले चिया पसलमा चियाको चुस्की सके । धेरै अखबारका पानाहरु यस्तै आशयका टिप्पणीबाट भरिए ।

तर, यसपालिको उनको भ्रमण किन प्रशंसा बटुल्न असफल भयो त ? यो सवाल गम्भीर छ । भ्रमणलाई सफल भन्दै सरकारी पक्षले आफ्नो अभिव्यक्ति दिएको छ । के भयो भने सफल मान्ने र के भयो भने असफल मान्ने भन्ने कुरामा कुनै गृहकार्य नभएको अबस्थामा भ्रमणलाई सफल भन्नुका पछाडिको आधार दिन सकिँदैन । भ्रमणलाई सफल भन्ने सरकारी पक्षले पनि ती बस्तुगत आधार दिएर भ्रमणलाई सफल भन्न सकिरहेको छैन ।

हाम्रा प्रधानमन्त्री केपी ओली भारत जाँदा ‘सद्भाव भ्रमण’ भनेका थिए । सद्भाव स्थापित गर्ने सवालमा त्यो भ्रमण सहयोगी पनि भयो । त्यसैले ओलीको भारत भ्रमणलाई असफल भनिएन । तर, मोदीको भ्रमण केका लागि थियो र सफल भनियो ? जवाफ सरकारी पक्षसँग पनि छैन । पाहुना आउनु र जानुसँग सफलता र असफताको कुनै साइनो हुँदैन । यो त लक्ष्य प्राप्तिसँग जोडिने बिषय हो । भ्रमणबाट के प्राप्त गर्ने लक्ष्य सरकारी पक्षले राखेको थियो ? त्यसको खुलासा नहुनु सफल असफलको कुरै नआउनुपर्ने हो । पाहुनालाई स्वागत गर्नु र सन्तुष्ट पारेर पठाउन नेपाली सभ्यता नै हो । यहाँ सफलता र असफलताको कुरै आउन नहुने ।

माथि उठाइएको सवालमा छलफल गरौं, किन यो भ्रमण आलोचित बन्यो ? यसमा दुईवटा कारणहरु छन्, जसले भ्रमणलाई आलोचित बनाइदियो र उनलाई नेपालमा स्वागत गर्ने पक्षलाई विवादित बनाइदियो ।

पहिलो कारण भनेको, भारतमा मोदी प्रधानमन्त्री भएकै समयमा नेपालमाथि लगाइएको नाकाबन्दी गलत थियो भन्ने महसुस भारतले सार्वजनिकरुपमा नभन्दै उनलाई तामझामका साथ स्वागत गर्नु । यो कुरा नेपाली प्रधानमन्त्री भारत भ्रमणमा रहेकै समयमा भारतलाई ‘रियलाइज’ गराउन सक्नुपर्दथ्यो । त्यसो हुन्थ्यो भने हार्दिकताको उचाइमा यो सम्बन्धको पुनर्जागरण हुन्थ्यो र अहिलेको तामझाम पनि ‘थोरै भयो कि ?’ भन्ने टिप्पणीहरु पनि कतैकतै सुनिन्थ्यो होला ।

बर्तमान नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन अगाडि भारतको त्यो कदमको चर्को आलोचना गरेर आफूलाई राष्ट्रवादी र अरुलाई दलाल सावित गर्न भरमग्दूर प्रयास गरे । यही प्रयासका क्रममा चुनावी माहोल उनको दल एमालेको पक्षमा बन्यो र उनी प्रधानमन्त्री बने । तर, हिजो जुन अबस्थामा भारत थियो, अहिले पनि उही अबस्थामा रहेको भारतसँगको उनको यतिधेरै सामिप्यताले उनलाई पनि विवादित बनायो । नाकाबन्दी लगाएकोमा कुनै पछुतो नमान्दै नाकाबन्दीका एकमात्र बिरोधीको झै छवि बनाएका केपी शर्मा ओलीले आफूलाई विवादित बनाउने गरी उनको स्वागत गर्नुले आलोचनाको आगो डढेलोझै दन्कदै, फैलदै गएको हो ।

 

भारतसँगको सम्बन्धका बारेमा विपी कोइरालाको एउटा सटिक धारणा थियो, ‘न संघर्ष, न समर्पण ।’ तर, केपी ओलीको पछिल्ला डेढ बर्ष संघर्ष पनि गरिहालौं जस्तो, समर्पण पनि गरिहालौ जस्तो व्यवहार देखियो, जुन नेपाली सामथ्र्य र चेतनाले हृदयतः स्वीकार गर्न सक्दैनथ्यो, गरेन । यो कारणले पनि मोदीको यो भ्रमण चर्चाको बिषय बन्यो, नेपाली सत्तापक्ष पनि विवादमा नराम्रोसँग तानियो । यो विवादित छविलाई स्वच्छ बनाउन अब धेरै नै मेहनत गर्नुपर्ने छ । भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण आलोचित हुनुको दोस्रो कारण पनि छ । त्यो हो, कुटनैतिक दायरा र नेपाली स्वाभिमानमाथि नेपाली सत्तापक्षबाट गरिएको नजरअन्दाज ।

सामान्यतः बिदेशी पाहुना अन्तर्राष्ट्रिय मार्ग प्रयोग गरेर कुनै पनि देशको औपचारिक भ्रमणमा जाने परम्परा रहेको हुन्छ । कुटनीतिक दक्षता प्रदर्शन गर्ने राष्ट्रले पनि त्यो प्रबन्ध मिलाउनुपर्दछ । तर, मोदी सिधै जनकपुर उत्रिए । यतिमात्रै हैन, कुटनीतिक दायराभित्र रहेर उनको स्वागत र उनीसँग सम्वाद गरिएको भए यति बिघ्न आलोचना हुने थिएन होला । अन्तर्राष्ट्रिय मार्गको प्रयोग नगरेर सिधै चाहेको ठाउँमा राष्ट्रप्रमुखहरु गएका उदाहरणहरु पनि नभएका होइनन् । त्यस्तै समकक्षीहरुका बीचमा ‘वान टु वान’ वार्ता भएका उदाहरणहरु पनि नभएका होइनन्, तर यो बेलामा भारतसँगको नेपाली चित्त दुखाईको पारा नओर्लिएको समयमा अतिरिक्त महत्व दिँदै बिशेष परिवेशमा भएका बिश्वव्यापी अभ्यासहरुका आधारमा त्यति धेरै महत्व दिनु हुँदैनथ्यो । एकै प्रकारका लुगा लगाउनु, सुरक्षाका नाममा भारतीय सेनाको टोलीलाई सुरक्षा जिम्मा दिनु पनि यतिबेला आबश्यक थिएन । यसले कुटनीतिक दायरालाई बेवास्ता गर्दै नेपाली स्वाभिमानमाथि समेत चोट पु¥यायो । यो अर्को कारण हो, जसले यो भ्रमणलाई आलोचित बनाइदियो ।

नेपाली सत्ता पक्षले बुझ्न के जरुरी छ भने, भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको आलोचना भइरहेको भए तापनि त्यसको केन्द्रविन्दु भनेको सरकार र सरकार प्रमुखको शैली र प्रस्तुति हो । मोदी पाहुनाका रुपमा आएकोमा कसैको विमति देखिँदैन । अतिथिलाई सम्मानका साथ स्वागत गर्ने नेपाली सभ्यताले मोदीको आगमनलाई लगत भन्न सक्दैन । तर, उनी फर्कदै गर्दा ‘राष्ट्रवादी भनिनेको असली रुप देखियो’ भन्ने सामान्य मानिस समेतबाट आएको प्रतिक्रियाले सत्तासीनहरुको नियत, चरित्र, दक्षता र शालिनतामाथि एकै पटक झापड दिएको छ ।

यो भ्रमणलाई नेपाली सत्तापक्षले सफल भएको भनिरहेको छ । तर भ्रमणले अरुण तेस्रोमा नेपाली हित र काठमाडौंबाट तराई जोड्ने सुरुङ मार्गको भविष्य के ? भन्ने ठूलो आशंका जन्माइदिएको छ । यो आशंका आशंकामै सीमित हुन सकेमा अहिले चसक्क भएको नेपाली मनले राहत महसुस गर्ला । अन्यथा, भ्रमणलाई सफल भन्नेहरुले नै त्यसको हिसाव–किताव दिनुपर्ला ।

गोरक्ष दैनिकवाट