

– शरद् शर्मा
काठमाडौँ, २२ मङ्सिर । त्रिभुवन विश्वविद्यालय (त्रिवि) आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ ।
विसं २०६५ देखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यसपटक निर्धारित मिति आगामी फागुन १४ गते गर्ने तयारीमा त्रिवि रहेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले सबै निर्वाचन सकिएकाले अब त्रिवि स्ववियु निर्वाचनको तयारीमा लाग्ने बताउनुभयो । “सबै निर्वाचन सकिए, अब हामी पनि नियमित हुननसकेको स्ववियु निर्वाचनको तयारीमा लाग्छौँ”, उहाँले भन्नुभयो, “सबै विद्यार्थी सङ्गठनसँग छलफल गरेर फागुनमा निर्वाचन गर्ने तयारीमा हामी जुट्छाँै ।”
त्रिवि क्याम्पसमा विगत लामो समयदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । प्रत्येक दुई÷दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुनसकेको छैन । त्रिविले शैक्षिक क्यालेण्डरमा नै हरेक दुई वर्षमा फागुन १४ गते स्ववियु निर्वाचनको कार्यतालिका राखेर निर्वाचन गराउँदै आएको थियो । विसं २०६५ सम्म नियमित हुँदै आएको निर्वाचन अहिले भने रोेकिएको छ ।
विसं २०६५ चैत ६ गतेपछि एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो । त्यतिबेला देशभरि त्रिविका ६२ आङ्गिक क्याम्पसमध्ये रत्नराज्य क्याम्पस (आरआर), जनप्रशासन क्याम्पससहित उपत्यकामा नौ वटा आङ्गिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो ।
यस्तै उपत्यकाका १३ क्याम्पस र उपत्यका बाहिर २३ आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन । त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् । खेलकुद निर्देशनालयका निर्देशक अधिकारीले मुलुकमा नयाँ सरकार गठन लगत्तै सरकारको सहयोगमा नै स्ववियु निर्वाचन गरिने बताउनुभयो । “स्ववियु निर्वाचन निर्धारित मितिमा हुनुपर्दछ भन्नेमा त्रिवि र सबै विद्यार्थी सङ्गठन रहेका छन्”, उहाँले भन्नुभयो, “निर्वाचन गर्नका लागि विद्यार्थी सङ्गठनबीचसमेत हामीले छलफल जारी राखेका छाँै ।”
अठाईस वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि त्रिविका क्याम्पसमा नियमति स्ववियु निर्वाचन भएको छैन । पछिल्लो पटक उमेरहद र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि पहिलो पटक विसं २०७३ मा आंशिक रुपमा केही क्याम्पसमा मात्र निर्वाचन भएको थियो । त्रिविले स्ववियु निर्वाचन गर्न पटक–पटक पहल गरे पनि हुनसकेको छैन ।
नेपाल विद्याथी सङ्घका अध्यक्ष दुजाङ शेर्पाले स्ववियु निर्वाचनको तयारीमा आफूहरु रहेको बताउनुभयो ।