भोजपुरमा प्रचण्ड सहभागी हुने चुनावी सभा नजिक बम विस्फोट

भोजपुरमा प्रचण्ड सहभागी हुने चुनावी सभा नजिक बम विस्फोट

काठमाडौं, ३० कात्तिक।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने चुनावी सभामा बम विस्फोट भएको छ । बुधबार दिउँसो भोजपुरको तिवारी भन्ज्याङ भन्ने स्थानमा प्रचण्डले सम्बोधन गर्ने चुनावी कार्यक्रमस्थल नजिकै एक व्यक्तिले बोकेको बम विस्फोट भएको हो । बिस्फोटमा परेर भोजपुर चरंविका सुमन श्रेष्ठ घाइते भएका छन्।

बम कुन हो र विस्फोट गराउने को हुन् भन्नेबारे थप जानकारी आउन बाँकी रहेको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बम विस्फोट भए पनि कुनै मानवीय क्षति भने भएको छैन । प्रहरीले बम विस्फोटमा संलग्न रहेको आशंकामा एकजनालाई नियन्त्रणमा लिएको छ।

बम विस्फोट हुने बेला प्रचण्ड सभामा सहभागी भने थिएनन् । उनी मोरङ र खोटाङको चुनावी सभामा सहभागी भएर भोजपुर जाने तय भएको थियो । त्यसअघि नै बम विस्फोट भएको हो । ‘हामी सहभागी भएको कार्यक्रमस्थल नजिकै बम बिस्फोट भएको छ, तर कुनै पनि मानवीय क्षति भएको छैन स्थिति सामान्य छ । अध्यक्ष प्रचण्ड कार्यक्रमस्थलमा सहभागी भइसक्नुभएको छ,’ माओवादी नेता दावा लामा शेर्पाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।