श्री कृपालु महाप्रभुको महाप्रयाण दिवश विविध कार्यक्रम गरि मनाईयो

श्री कृपालु महाप्रभुको महाप्रयाण दिवश विविध कार्यक्रम गरि मनाईयो

-मुकुन्द अर्याल

काठमाडौं।भक्तियोगरसावतार जगद्गुरु श्री कृपालु महाराजको (श्री कृपालु महाप्रभुको )महाप्रयाण भएको पावन दिन (कार्तिक २० ) , श्री राधामाधव समिति नेपाल अन्तर्गतका स्वदेश तथा विदेश स्थित सत्संग केन्द्रहरुमा विविध कार्यक्रमको आयोजना गरि भव्यतापूर्वक मनाईयो ।

यसै क्रममा श्री राधा माधव समिति नेपालको श्यामा श्याम धाम राधे राधे स्थित भक्ति मन्दिरमा आयोजित साधु सेवा कार्यक्रम अन्तर्गत १०८ साधुहरुको पूजन गरियो । उक्त साधु सेवाका एक अतिथि लक्ष्मीमाताले भक्तियोगरसावतार कृपालु महाप्रभुको स्मृति कार्यक्रममा उपस्थित हुन पाउनु अहोभाग्य रहेको वताउंदै हामीले यो जीवन श्रीकृष्ण भक्तियोगका निम्ति पाएको र एक क्षण पनि खेर फाल्नुनहुने वताउनुभयो । श्री कृपालु महाप्रभुद्वारा प्रदत्त विशेष :प्रवचनको श्रव्य दृश्य रेकर्ड प्रस्तुती , विशेष ः साधना ,आरती ,महाप्रसाद लगायतका कार्यक्रमहरुका बीच दिव्योल्लासमय वातावरणमा मनाईएको उक्त विशेष कार्यक्रममा श्री राधा माधव समिति नेपाल, डिभाईन युथ क्लव नेपालका सेवक ,साधक , शुभेच्छुकहरुको भव्य उपस्थिति थियो ।

स्मरण रहोस , २०७० कार्तिक २० तद्अनुसार ६ नोभेम्बर २०१३ मा भक्तियोगारसावतार श्री कृपालु महाप्रभुको को महाप्रयाण ( देहावसान ) भएको थियो । श्री कृपालु महाप्रभुले भक्ति मार्गका पथिक साधकहरुलाई सफलता निम्ति सदैव सत्संग ,मानव सेवा र रुपध्यान साधनामा जुट्न अभिप्रेरित गर्दै आउनु भएको छ । कृपालु महाप्रभुकै परम कृपाबाट विश्वभरका नेपाली भाषीले मातृभाषामा प्रचारकको रुपमा स्वामी हरिदासजी पाएका छन् भने उहाकै सत्प्रेरणाबाट नेपालमा सत्संग ,सेवा र साधनाका सत्प्रयासहरु दिनानुदिन बढिरहेछन् ।