एकजना गाउँपालिका अध्यक्ष र तीनजना वडाध्यक्षलाई निलम्बनमा राख्न अख्तियारको पत्र

एकजना गाउँपालिका अध्यक्ष र तीनजना वडाध्यक्षलाई निलम्बनमा राख्न अख्तियारको पत्र

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका मुद्दा विचाराधीन रहेकै अवस्थामा स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका एकजना गाउँपालिका अध्यक्ष र तीनजना वडाध्यक्षहरुलाई निलम्बनमा राख्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहलाई पत्र पठाएको छ ।

अख्तियारले मंगलबार पठाएको पत्रमा भ्रष्टाचारको मुद्दा विचाराधीन रहेका बेला स्थानीय जनप्रतिनिधि चुनिएको भन्दै स्वतः निलम्बनमा रहने व्यवस्था कार्यान्वयन गर्न सम्बिन्धित निकायलाई भनिएको छ । अख्तियारले मन्त्रालय, आयोग र सम्बन्धित स्थानीय तहलाई लेखेको पत्र अनुसार कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्ष देवीदत्त उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा विचाराधीन छ । अघिल्लो कार्यकाल वडा नम्बर २ को वडाध्यक्ष रहेका बेला सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्‍याएको भन्दै उनीविरुद्ध अख्तियारले मुद्दा हालेको थियो ।

यस्तै मोहन्याल–३ का वडाध्यक्ष नन्दराम गिरीलाई पनि मुद्दा टुंगो नलागेसम्म निलम्बनमा परेका छन् । अघिल्लो पटक पनि वडाध्यक्ष रहेका उनीविरुद्ध पनि भ्रष्टाचारको मुद्दा विचाराधीन छ । यसैगरी, अछामको पञ्चदेवल विनायक नगरपालिका-७ का वडाध्यक्ष सुरतबहादुर रावललाई पनि निलम्बन गर्न अख्तियारले पत्र पठाएको छ । कालीदेवी माविको शिक्षक रहँदा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको भन्दै उनीविरुद्ध मुद्दा चलेको थियो । यो मुद्दा हाल विचाराधीन छ ।

नुवाकोटको बिदुर नगरपालिका–९ का वडाध्यक्ष हरिराम भण्डारीलाई पनि अख्तियारले निलम्बन गर्न भनेको छ । सुलक्षण माविको प्रध्यानाध्यापक रहँदा विद्यालयको सम्पत्ति हिनामिना गरेको आरोपमा उनीविरुद्ध दायर भएको मुद्दा विशेष अदालतमा विचाराधीन छ ।